१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा वातावरण साहित्य सम्मेलन

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७४, शनिबार १४:०१

बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरण विषयकेन्द्रित साहित्य सम्मेलन आयोजना गरेका छन् । सम्मेलन आइतबार (जून ४) मा लन्डनको चार्ल्टनमा सम्पन्न हुन लागेको संयोजक विजय हितानले जानकारी दिए ।

विज्ञानजस्तै साहित्यमा पनि प्रकृति र वातावरणको संरक्षणात्मक र चेतनामूलक प्रयोगको आवश्यकता टड्कारो बनेकोले विश्व वातावरण दिवसको अवसर पारेर सम्मेलन गर्न लागिएको हितानले बताए । उनका अनुसार सम्मेलनका लागि हल बुकिङ लगायत सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ । सम्मेलन बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा हुनेछ ।

लन्डनको सम्मेलनमा एनआरएन युकेको भाषा साहित्य विभाग, विश्व नेपाली साहित्य महास‌ंघ युके, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युके, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, नेपाली साहित्य विकास परिषद्, नेपाल मुक्तक प्रतिष्ठान, समकालीन साहित्य प्रतिष्ठान, साहित्य चौतारी, साहित्य सङ्गम, प्रवासी नेपाली साहित्य समाजलगायत ११ वटा साहित्यिक संस्थाका व्यक्तिहरुको सहभागिता रहनेछन् ।

यो वर्षको विश्व वातावरण दिवस जुन ५ मा परेको छ । संयुक्त राष्ट्रसंघको वातावरण विभागले विश्वभर दिवस मनाउन नेतृत्व गर्दछ । यसवर्ष ‘मानिसलाई प्रकृतिसँग नजिक्याउनु’ दिवसको नारा तय गरिएको छ ।