६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री निर्वाचनको प्रक्रिया

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७४, शनिबार १४:१२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि व्यवस्थापिका–संसद् सचिवालयले नयाँ प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार आज जेठ २० गते बिहान ११ देखि ४ बजेसम्म प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता भएको छ भने भोलि जेठ २१ गते निर्वाचन हुनेछ ।
नेपालको संविधानको धारा २९८ को उपधारा (३) र संसद् नियमावली, २०७३ को परिच्छेद ९ को दफा ४९ मा प्रधानमन्त्री चयनसम्बन्धी व्यवस्था छ । प्रधानमन्त्रीको राजीनामापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानअनुसार जेठ ११ गते संसद्मा रहेका राजनीतिक दलको सहमतिमा प्रधानमन्त्री चयन गर्न सात दिनको समयावधिसहित आह्वान गर्नुभएको थियो ।

सहमतिमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि राष्ट्रपति भण्डारीले जेठ १८ गते बहुमतीय प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएको थियो । राष्ट्रपतिको पत्र प्राप्त भएपछि सचिवालयले नियमावलीको दफा ४९ को उपदफा (४) बमोजिम निर्वाचन प्रक्रिया अघि बढाएको छ । नियमावलीअनुसार उम्मेदवारीको सूचना सम्बन्धित उम्मेदवारले संसद् बैठकमा प्रस्तुत गरेपछि प्रस्तावक र समर्थक सदस्यले समर्थन गर्नेछन् ।

उपनियम (५) बमोजिम उम्मेदवारीको सूचना एउटामात्र प्राप्त भएमा प्रस्तावक र समर्थक सदस्यले बोलिसकेपछि सभामुखले उक्त उम्मेदवारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । सो उम्मेदवारीउपर उपनियम (७) बमोजिम मत विभाजन गर्दा संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित भएमा सम्बन्धित उम्मेदवार प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा गरिनेछ ।

उपनियम (६) मा उम्मेदवारीको सूचना एकभन्दा बढी प्राप्त भएमा दर्ता क्रममा प्रत्येक उम्मेदवारको प्रस्तावक र समर्थक सदस्यले बोलिसकेपछि सबै उम्मेदवारीका सूचनामाथि सङ्क्षिप्त छलफल हुनेछ र उम्मेदवारी फिर्ता लिने समय समाप्त भएपछि सभामुखले कायम रहेका सबै उम्मेदवारीका सूचनालाई एकैपटक बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गर्ने प्रावधान छ ।

त्यसरी निर्णयार्थ प्रस्तुत उम्मेदवारीमध्ये जुन उम्मेदवारले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत प्राप्त गर्छ सो उम्मेदवार प्रधानमन्त्री पदमा निर्वाचित भएको मानिनेछ ।

संसद्को निर्णय मत विभाजनद्वारा हुनेछ । एउटामात्र उम्मेदवारीको सूचना प्राप्त भएको आवस्थामा सभामुखले उम्मेदवारको पक्षमा रहने अर्थात् ‘हुन्छ’ भन्ने र उम्मेदवारको विपक्षमा रहने अर्थात् ‘हुन्न’ भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर मत सङ्कलन गरिने उपनियम (७)मा उल्लेख छ ।

एकभन्दा बढी उम्मेदवारीको सूचना प्राप्त भएको अवस्थामा सभामुखले प्रत्येक उम्मेदवारको पक्षमा रहने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर मत सङ्कलन गरिन्छ । त्यसरी सङ्कलित मतगणनाको परिणाम सभामुखले तत्काल सुनाउनु हुनेछ र त्यसप्रति कसैले पनि असहमति प्रकट गर्न पाउने छैन ।

प्रधानमन्त्रीले आफ्नो कार्यभार सम्हाल्नुअघि संविधानको धारा ८० बमोजिम अनुसूची–८ को ढाँचामा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने प्रावधान छ ।

प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा (संयुक्त) सहित अन्य साना दलका ३१० सांसदको समर्थनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । संसद्मा हाल ५९३ सांसद छन् भने प्रधानमन्त्रीमा निर्वाचित हुन २९७ मत आवश्यक पर्छ ।

भरतपुर महानगरपालिकाको स्थानीय तह निर्वाचनको मतगणना पुनःसञ्चालन नभएसम्म संसद्को बैठक चल्न नदिने नेकपा (एमाले) को अडानका कारण संसद् बैठक दुई दिनदेखि अवरुद्ध छ । भोलिका लागि तोकिएको संसद् बैठक सञ्चालन हुन नसके प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी नै छ ।