जुन ८ मा हुने वेलायती संसदीय निर्वाचनमा एक जना नेपाली मूलका डा.बच्चु कैलाश कैनी लेबर पार्टीबाट उम्मेदवार हुँदैछन्। पार्टीको काउन्सिलर भएका उनी डार्टफोर्ड क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन्। वेलायतको संसदीय इतिहासमा नेपाली मूलको उम्मेदवार बनेको पहिलो पटक हो। चिरन शर्माले उनीसँग गरेको कुराकानीः

वेलायतको संसदीय निर्वाचनमा उम्मेदवार हुनु भएको छ। कस्तो छ तयारी?

अहिले निकै खुशी लागेको छ। बेलायत जस्तो प्रजातन्त्रको जननी भएको मुलुकमा नेपालबाट ११–१२ वर्ष अगाडि आएर ४ वर्ष अगाडि राजनीति सुरु गरेर ठूलो दलको तर्फबाट उम्मेदवार बन्न पाउँदा खुसी लागेको छ, यो गौरवको विषय पनि हो मेरो लागि। यसका साथै चुनौती पनि छ, मिहेनत पनि धेरै गर्नुपर्छ।

चुनाबी माहोल कस्तो देखिएको छ?

अहिले हामी प्रचार प्रसारमा छौँ। ८ तारिकमा मनोनय दर्ता गर्‍यौं त्यसपछि विशेषगरी हामी घरदैलो कार्यक्रम, स्कूल, अस्पतालमा प्रचार प्रसार गर्ने, मतदातालाई फोनबाट सम्झाउने काममा व्यस्त छौँ। माहोल एकदमै तीब्र गतिमा चलिरहेको छ।

अहिले नेपालमा पनि निर्वाचन चलिरहेकोछ । नेपालको निर्वाचन र बेलायतको निर्वाचनमा के फरक पाउनुभयो?

बेलायतको निर्वाचन पोलिसीमा हुन्छ। मतदाताहरूले कुन पार्टीको पोलिसी कस्तो भनेर विचार गर्छन्। अर्को कुरा बेलायतको राजनीतिक चुनाव एकदमै शान्त छ। यहाँ हो हल्ला गर्ने, भाषण गर्ने प्रचलन छैन। यहाँ चुनावी आचारसंहिता सबैले पालना गर्छन् तर नेपालमा आचारसंहिता बन्छन्। पालना हुँदैनन्। मुख्य यी तीन कुरामा नेपाल र बेलायतको निर्वाचनमा फरक छ।

मतदातालाई अपिल गर्ने चुनाबी एजेन्डा यहाँ कस्ता हुन्छन्?

मैले देखेको दुई किसिमका अजेण्डा हुँदा रहेछन्। एउटा राष्ट्रिय चुनावी अजेण्डा र अर्को स्थानीय चुनावी अजेण्डा। मैले हजारौँ मानिसहरुसँग अन्तक्र्रिया गरेँ। यसबाट के देखियो भने धेरै जसो मानिसहरू राष्ट्रिय चुनावी अजेण्डाबाट बढी प्रभावित हुन्छन्। जस्तो कुनै चैँ दलको चुनावी अजेण्डा के छ कुन दलले के कुरालाई उठाएको छ भन्ने विषयमा ध्यान दिने साथै संसदीय चुनाव भएको कारण पनि सांसदबाटै प्रधानमन्त्री बन्ने भएकाले कसलाई भोट हाल्दा को प्रधानमन्त्री बन्छ भन्ने कुरालाई हेर्दारहेछन्। त्यही भएर देशको नेतृत्व हेर्ने कुरा हुन्छ अनि अर्को कुरा स्थानीय निकायमा उम्मेद्वारले कतिको समस्याको समाधान गर्न सक्छ। अजेण्डा कत्तिको बुझेको छ भन्ने कुरा हेरिन्छ। अजेण्डा चैँ उम्मेद्वारमा भर पर्ने पनि हुन्छ।

नेपालमा मतदातासम्म पुग्न विभिन्न सभा तथा कार्यक्रम गरिन्छ तपाई चैँ कसरी मतदाता माझ पुग्नुभएको छ ?

हामीले पहिलो चरणमा हाम्रो क्षेत्रका सम्पूर्ण घर धुरीमा पोष्ट अफिस र मेलबाट मेरो लिफलेट हरेक घरमा पुर्याउने काम गर्‍यौं। दोश्रो चरणमा स्वयम्सेवकमार्फत लिफलेट प्रत्येक घरमा पुर्‍याउने काम गर्‍यौं। तेस्रो कुरा जनताको घरमै पुगेर समस्या बुझ्ने उनीहरु के चाहन्छन् सबै जानकारी लियौँ। अनि जहाँ भिडभाड हुन्छ त्यस्तो स्थानमा पुगेर आफ्नो लिफलेट दिने काम गरिरहेका छौँ। अनि फोनबाट पनि मतदाताहरूलाई आफ्नो अजेण्डाहरु सुनाउने काम गरिरहेका छौं। नेपालमा जस्तो आमसभा गर्ने, नाराबाजी गर्ने चलन यहाँ छैन।

तपाइँ आवद्ध रहेको लेबर पार्टी बेलायतमा एकदमै कमजोर छ भन्ने मानसिकता छ। यसलाई कसरी लिनुहुन्छ?

त्यो कुरा सत्य होइन। त्यो झुटो प्रचार हो। अनि अर्को कुरा हाम्रो पार्टीले सत्ता सञ्चालनको नेतृत्व नपाएकाले सरकारका मान्छेलाई कमजोर छ भन्ने लागेको हुनसक्छ। वास्तविकता त्यस्तो होइन।

बेलायतमा रहेका नेपालीहरू जो मतदाता पनि छन् उनीहरुले तपाइँमाथि धेरै आशा राखेका छन्। तपाइँमाथि विश्वास गर्दा फरक पर्दैन नि?

पक्कै पनि हुन्छ मलाई विश्वास छ मैले जित्छु भन्ने तर पनि निकै नै चुनौती छ, कडा मिहेनत गर्नुपर्छ। यो ठूलो अवसर पनि हो। यो चुनावमा एसियन मूलको म मात्र एक्लो उम्मेद्वार हो।

तपाइँको क्षेत्रमा तपाईको पार्टी निकै नै कमजोर भएकाले जसलाई उम्मेद्वार बनाए पनि हुन्छ भनेर टिकट दिएको भन्ने चर्चा पनि सुनिन्छ। वास्तविकता के हो?

यो सत्य होइन किन भने म यो क्षेत्रमा नै बस्ने र विगत ४–५ वर्षदेखि यहीबाट राजनीति गर्दै आएको छु। त्यसैले पार्टीले मलाई यहाँबाट उठाएको हो। जित्ने हार्ने भन्दा पनि जसले जुन ठाउँमा राम्रो गर्न सक्छ त्यही उठाउने हो। हार्ने जित्ने भएर उठाउने भने होइन।

बेलायतमा नेपालीहरूको ठूलो समुदाय छ। तपाई निर्वाचित हुनु भयो भने उनीहरुको मागहरू सम्बोधन गर्न के कस्तो पहल कदमी उठाउनु हुन्छ?

लेवर पार्टी आप्रवासीको समस्यालाई समाधान गर्ने पार्टीको रुपमा बेलायतमा चिनिन्छ। त्यसैले यदि म निर्वाचित भएँ भने आप्रवासीको समस्याको समाधान गर्नेछु जस्तो विद्यार्थीलाई सहज रुपमा पढ्न सहयोग गर्ने, भिसा सहज रुपमा उपलब्ध गराउने, नेपालबाट काम गर्न सक्ने दक्ष जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रमहरू ल्याउनेछु। अर्को कुरा गोर्खाहरुको समस्यालाई मैले नजिकबाट देखेको छु, नियालेको छु। समान अधिकारको कुराहरु, स्वास्थ्य सेवाको विषयलाई मैले नजिकबाट नियालेको छु। त्यसैले उहाँहरुको समस्यालाई सरकारसामु पुर्‍याउनेछु र समाधान प्रयासको नेतृत्व गर्नेछु।

बेलायत र नेपालको सम्बन्ध २ सय वर्ष पुरा भइसकेको छ। तपाई नेपाली मूलको उम्मेदवार हुँदा यसले दुई मुलुकको सम्बन्धमा चैँ के कस्तो फरक पार्छ ?

त्यही धेरै फरक हुन्छ भन्ने अपेक्षा त म राख्दिनँ। किनभने दुई देशको सम्बन्ध विदेश मन्त्रालयको विदेश नीतिबाट निर्धारित हुन्छ त्यसलै त्यस्तो फरक त हुँदैन् तर निर्वाचित भएर संसदमा पुग्दा सरकारको धेरै ठाउँहरुमा पहुँच पुग्छ त्यो अवस्थामा नीति निर्माण गर्दा आफ्नो कुरा पनि राख्न पाइन्छ।

चुनाव मिति नजिकिँदैछ। तपायँको अन्तिम तयारी के छ?

आजदेखि चुनावको दिनसम्मको चुनावी कार्यक्रमहरु सार्वजनिक भएको छ । यसमा कुन समयमा कहाँ कसलाई भेट्ने, के कार्यक्रम गर्ने जस्ता सबै कार्यक्रमहरु छ । त्यसैले पूर्वनिर्धारित कार्यक्रम अनुसार नै चुनावी प्रचार प्रसारमा नै लागिपरिन्छ।