६ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डनमा ३ महिनामा ३ आतंकवादी आक्रमण

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७४, आईतवार ०३:५८

लन्डन । बेलायतको लन्डनस्थित चर्चित लन्डन ब्रिजमा आतंककारी आक्रमण भएको छ । भ्यानमा आएका तीन जना हतियारधारीले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । घटनामा ५-६ जनाको मृत्यु भएको जनाइएको छ । यद्यपि मृतकको संख्याबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन ।
प्रहरी स्रोतले प्रारम्भमा एकजनाको मृत्यु भएको पुष्टि गरे पनि केही अन्तर्राष्ट्रिय संचारमाध्यमले ५-६ जनाको मृत्यु भएको विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएका छन् । हमलामा कम्तीमा ६ जना घाइते भएका छन् ।
लन्डन प्रहरीले यो घटनालाई आतंककारी आक्रमण भनेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार सडक पेटीमा हिँडिरहेका मानिसलाई लक्षित गरी आतंककारीहरुले सेतो रंगको भ्यान गुडाएका थिए । घटनापछि लन्डन ब्रिजमा आवागमनमा रोक लगाइएको छ । प्रहरीले अभियुक्तहरुको खोजी जारी राखेको र अनुसन्धान शुरु गरिएको जनाएको छ ।
यसैबीच लन्डन प्रहरीले आक्रमण भएको ब्रिज नजिकैको बजारमा क्षेत्रमा पनि छुरा हमला भएको र त्यसबारे पनि अनुसन्धान भइरहेको जनाएको छ । घटना भएको स्थान लन्डन रेलवे स्टेसन नजिक पर्छ ।
घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । बेलायतकी प्रधानमन्त्री टेरेसा मेले सो घटनालाई आतंकवादी आक्रमणका रुपमा लिइएको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै बेलायत सरकारलाई आतंकवादविरुद्धको लडाईमा हरसम्भव सहयोग गर्न आफू तयार रहेको जनाएका छन् ।
– बिबिसीबाट