७ बैशाख २०८१, शुक्रबार
Follow Us

पुनःमतदान गराउने निर्णय बदर गर्न अदालतमा निवेदन

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७४, आईतवार १२:२४

काठमाडौं । सर्वोच्च अदालतमा चितवनको भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको पुनमतदान गराउने निर्णय बदर गर्न माग गर्दै आज रिट निवेदन दिइएको छ ।
आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाई सो महानगरपालिका १९ नं वडा खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले पुनःमतदान गर्ने निर्णय बदर गर्न माग गर्दै निवेदन दायर गर्नुभएको हो । निवेदनमा भनिएको छ, “नष्ट भएका भनिएका ९० मतलाई वदर मतको सूचीमा राखी मतगणना कार्य गर्नु गराउनु र पुनःमतदान गर्ने निर्णय बदर गर्नू, गराउनू ।”
आयोगको निर्णय गैरकानुनी, विधिको शासन विपरीत, निर्वाचन स्वतन्त्रता, निष्पक्षता, तथस्तताकै विपरीत स्वेच्छाचारी र दुराशययुक्त रहेको निवेदनमा उल्लेख छ । आयोगले शनिबार विवादित उक्त वडामा पुनःमतदान गराउने निर्णय गरेको थियो । सोविरुद्ध अदालतमा आज निवेदन दर्ता गरिएको हो । उक्त रिट निवेदनका बारेमा भोलि फैसला सुनाउने बताइएको छ ।
सो महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका अवस्थामा यही जेठ १४ गते राति ९० मतपत्र च्यातिएकाले मतगणना रोकिएपछि आयोगको टोलीले अध्ययन गरेको थियो । सो विषयमा नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)ले पुन निर्वाचन गर्नुपर्ने तथा प्रतिपक्षी नेकपा (एमाले) ले बाँकी मतगणना गर्न माग गर्दै आएका थिए ।