१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजपाले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७४, आईतवार १६:३२

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने निश्चित भएको छ । यस विषयमा टुङ्गो लगाउन आज बिजुलीबजारस्थित कार्यालयमा दिनभर बसेको राजपा अध्यक्ष मण्डलको बैठकले कुनै निर्णय भने लिन सकेन । तथापि, आफ्ना मुद्धा सम्बोधनका लागि लिखित प्रतिबद्धता जनाएको खण्डमा समर्थन गर्ने निर्णय भएको अध्यक्ष मण्डलका एक नेताले राससलाई बताउनुभयो ।

“काँग्रेसले हिजो पनि समर्थनका लागि आग्रह गरेको थियो, आज पनि संसद्मा रहेका साथीहरुसँग आग्रह गरेको छ, हाम्रा मुद्धा सम्बोधनका लागि सभापति देउवाले लिखित सहमति गरेर भएपनि जाने प्रतिबद्धता जनाउनु भएको छ, यसलाई पार्टीले सकारात्मक रुपमा लिएको छ, प्रधानमन्त्रीको निर्वाचन पनि सरेकाले थप छलफल गरेर निर्णय लिन्छौँ”–उहाँले भन्नुभयो ।
अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले प्रधानमन्त्री पदमा काँग्रेस सभापति देउवालाई समर्थन गर्नेबारे पार्टीभित्र सकारात्मक धारणा आएकाले यसबारे अर्को बैठकले निर्णय गर्ने बताउनुभयो । विभिन्न छ मधेसकेन्द्रित दल मिलेर बनेको राजपाको व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने हाल २४ सांसद हुनुहुन्छ ।