१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भरतपुर महानगर–१९ मा पुनः मतदात गराउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७४, सोमबार ०६:१४

काठमाडौं । भरतपुर महानगरपालिका वडा नं. १९ मा फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई हुँदैछ । भरतपुर महानगरपालिका १९ नम्बर वडाका वडा सदस्य उम्मेदार गुञ्जमान बिक र मतदाता अधिवक्ता तुलसीराम पाण्डेले हिजो दायर गरेको रिटमा आजका लागि पेशी तोकिएको थियो । रिटमा निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको आरोप लगाउँदै निर्णय खारेजीको माग गरिएको छ ।
च्यातिएका ९० मतलाई बदर मानेर बाँकी मत गणना गर्ने आदेशको माग पनि रिटमा गरिएको छ । निर्वाचन आयोगको निर्णय बदर नभएमा भविष्यमा आपराधिक कार्यले प्रश्रय पाउने, निर्वाचन अन्तहीन प्रक्रिया बन्ने र दोस्रो चरणको निर्वाचनमा समेत सत्तापक्षको प्रभावमा परि निर्वाचन आयोगले निष्पक्ष निर्वाचन गराउन नसक्ने रिट निवेदकको दावी छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम मतगणनास्थल अनधिकृत कब्जा भएको भन्दै १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । गत जेठ १४ गते भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा माओवादीका मतगणना प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतपत्र च्यातिएको ५ दिनपछि निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेको थियो ।