१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरकार सञ्चालन योजना बनाउँदै प्रचण्ड

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७३, बिहीबार ०५:५२

काठमाडौं । प्रधानमन्त्रीका रुपमा प्रस्तावित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्दा अबलम्बन गर्नुपर्ने नीतिका बारेमा पार्टीभित्र र बाहिरका व्यक्तिसँग परामर्श थालेका छन् । सत्ता गठबन्धनको प्रमुख साझेदार कांग्रेससँग प्रधानमन्त्री र अर्थमन्त्रीसहित आठ मन्त्रालय लिने समझदारी बनाएका प्रचण्डले विगतको समिक्षा गरी आगामी दिनमा अवलम्बन गर्नु पर्ने नीतिका बारेमा परामर्श थालेका हुन् ।
‘अब सरकारमा जाँदा कस्तो नीति लिनुपर्छ, मलार्इ सल्लाह दिनुस्,’ प्रचण्डले केन्द्रीय सचिवालयका नेताहरुसँग बुधबारको बैठकमा भने । तर नेताहरुको सुझाव सुन्न नपाउँदै प्रचण्ड अर्को बैठकमा जानु पर्ने हतारमा रहेका कारण बिहीबार बिहान बैठक बोलाइएको छ।
संविधान कार्यन्वयनका लागि चैतसम्म स्थानीय निकायको निर्वाचन गराइसक्नुपर्ने, तराई मधेसका मुद्दा संशोधन गर्न संविधान संशोधन प्रक्रिया अगाडि बढाउनु पर्ने, संविधान संशोधनका लागि प्रतिपक्षमा बस्न लागेको एमालेलाई सहमतिमा ल्याउनु पर्ने, भारत र चीनसहित अन्तर्राष्ट्रिय समुदायका बीचमा सन्तुलित कूटनीति कायम राख्न सक्नु पने, भूकम्प पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने, आफूभन्दा ठूलो दल कांग्रेससँगको समझदारीलाई बचाइराख्नु पर्ने, सशस्त्र द्वन्द्वकालीन मुद्दालाई किनारा लगाएर शान्तिप्रक्रियालाई पूर्णता दिनु पर्ने, योग्य र दक्षलाई मन्त्री बनाउन र राजनीतिक नियुक्तिमा पनि क्षमतावानलाई प्राथमिकता दिन नेताहरुले सुझाव दिन थालेको समाचार विहीबारको अन्नपूर्ण पोष्टले छापेको छ ।

मन्त्री छान्न माओवादीमा बडो अफ्टेरो
आगामी सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा परेको छ । पार्टीबाट मन्त्री चयनका लागि हुने गरेका अनौपचारिक छलफलमा आफू पक्षधरलाई महत्वपूर्ण मन्त्रालयसहित मन्त्री बनाउने होडबाजी चलेपछि अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व नगर्दै संकटमा परेका आजको राजधानी दैनिकमा समाचार छ ।
अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारमा सहभागी तीनजना मन्त्रीलाई दोहोर्‍याएर अन्य नयाँ अनुहारसहितको मन्त्रिमण्डल बनाउने तयारी थाले पनि तीनजनामा पनि को-को जाने भन्ने विवाद देखिएको छ । पुराना तीनजनामा विवाद बढेपछि नयाँ अनुहारमात्र माओवादीबाट मन्त्री बन्ने सम्भावना समेत बढेर गएको छ ।
स्रोतका अनुसार ओली सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र वनमन्त्री अग्नि सापकोटाको नाम चर्चामा छ । उनीहरुले राम्रो काम गरेकाले पुनः मन्त्री बनाउने दाहालको योजना छ ।
माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने र ओली नेतृत्वको सरकारबाट नहोदोरिने नेताहरुमा जनार्दन शर्मा, कृष्णबहादुर महरा, राम कार्की, प्रभु शाह, हितराज पाण्डे, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, गौरीशंकर चौधरी, सीता नेपाली लगायतको नाम चर्चामा छ ।
माओवादीले आगमी सरकारमा सहभागी हुने मन्त्री छनोटका लागि कुनै मापदण्ड तथा विधि भने बनाएको छैन ।