१३ बैशाख २०८१, बिहीबार
Follow Us

संसद् बैठक सुरु : शीर्ष नेताको सम्बोधन

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७४, मंगलवार ०९:१५

काठमाडौं । प्रमुख राजनीतिक दलबीचको सहमतिबमोजिम आजदेखि व्यवस्थापिका– संसद्को बैठक पुनः सञ्चालन भएको छ ।
नयाँ प्रधानमन्त्री चयनलगायत महत्वपूर्ण कार्यसूची रहेको संसद्को बैठक अवरोध गर्दैआएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच सोमबारको सहमतिका आधारमा आजको बैठकको सुरुमा शीर्ष नेताको सम्बोधन प्रारम्भ भएको छ ।
बैठक सुरु हुनासाथ सभामुखले समय दिएपछि अहिले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ । एमालेले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोधमा संसद् अवरोध गर्दै आएको थियो ।
बैठकमा प्रधानमन्त्रीको चयन, स्थानीय तह निर्वाचन (पहिलो संशोधन), विधेयक, २०७४ लाई प्रस्तुत गर्ने र नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि दफावार छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ । प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।
यस्तै प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव फिर्ता गर्ने सूचनालाई बैठकको सहमतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।