१२ बैशाख २०८१, बुधबार
Follow Us

राजपा र समाजवादी फोरमसँग तीनबुँदे सम्झौता

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७४, मंगलवार ११:४४

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ ।
संविधान संशोधनलगायत तीनबुँदे सहमतिसँगै राजपाले प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा सभापति देउवालाई समर्थन गर्ने निर्णय गरेको हो । उक्त सहमतिपत्रमा काँग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपाका अध्यक्षमण्डलका नेता महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले हस्ताक्षर गर्नुभएको छ ।
अघिल्लो सरकार गठनका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता, सङ्घीय आयोग गठन, संविधान संशोधन, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, घाइतेलाई उपचार र पीडितलाई क्षतिपूर्तिका बाँकी काम पूरा गर्नाका साथै स्थानीय तहको सङ्ख्या राजनीतिक सहमतिका आधारमा वृद्धि गर्ने सैद्धान्तिक सहमति भएको छ ।
सहमतिको तेस्रो बुँदामा प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा काँग्रेस सभापति देउवाका पक्षमा मतदान गरिने उल्लेख छ । राजपाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने २४ सांसद हुनुहुन्छ ।
यसैगरी सङ्घीय समाजवादी फोरम नेपालसँग पनि सोही तीनबुँदे सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा काँग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ । फोरमसँग व्यस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने १५ सांसद हुनुहुन्छ ।