६ बैशाख २०८१, बिहीबार
Follow Us

नवनिर्वाचित प्रधानमन्त्री देउवाको यस्तो छ विगत

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७४, मंगलवार १५:०४

काठमाडौं । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । संसद्को आजको दोस्रो बैठकमा भएको नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा सो पदका एक मात्र उम्मेदवार देउवाले ३८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको विपक्षमा १७० मत परेको थियो । एक मात्र उम्मेदवार भए पनि प्रधानमन्त्री चयनका लागि हाल कायम सांसदको ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक भएकाले मत विभाजन भएको हो ।
हाल संसद्मा कायम कुल ५९३ सांसद रहेकामा आजको मतदानमा ५५८ ले भाग लिनुभएको थियो । ‘सभापति देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस्’ भनी प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
माओवादी केन्द्र र नेपाली काँग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी र नेकपा (संयुक्त) लगायतका दलले देउवाको पक्षमा मतदान गरेका थिए । देउवाको विपक्षमा नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, परिवार दललगायतले मतदान गरेका थिए । प्रधानमन्त्रीमा विजयी घोषणासँगै सभापति देउवालाई सभामुख ओनसरी घर्ती र सांसद्हरुले बधाई दिनुभएको थियो ।

यस्तो छ विगत
नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा व्यवस्थापिका–संसद्को आजको बैठकबाट मुलुकको ४०औँ प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । प्रधानमन्त्रीका रुपमा यो उहाँको चौथो कार्यकाल हो । नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । हाल उहाँ बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री देउवा काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिनुभएको थियो । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय हुनुभएका उहाँ विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका हो । उहाँ नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ । उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा व्यवस्थापिका–संसद् सदस्य हुनुहुन्छ । प्रधानमन्त्री देउवाका एक छोरा हुनुहुन्छ ।
विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित हुनुभएका उहाँ २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी हुनुभएको थियो ।
विसं २०४८ मा गृहमन्त्री बन्नुभएका प्रधानमन्त्री देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री हुनुभएको थियो । त्यसपछि उहाँ २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री हुनुभयो । असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बन्नुभयो । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गर्नुभएको थियो ।
प्रधानमन्त्री हुँदा उहाँले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याउनुभएको हो । त्यस्तै उहाँकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन भएका हुन् ।
पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा काँग्रेस विभाजन भई गठन भएको नेपाली काँग्रेस (प्रजातान्त्रिक)को उहाँ सभापति बन्नुभयो । विसं २०६४ मा काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को एकतापछि उहाँ नेपाली काँग्रेसको वरिष्ठ नेता हुनुभएको थियो ।
सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहुनुभएका उहाँ सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गर्नुभएको छ ।