१५ चैत्र २०८०, बिहीबार
Follow Us

एकलौटी मन्त्री छनौट गरेको भन्दै पौडेल समूह असन्तुष्ट

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७४, बुधबार १३:३१

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भएसँगै पार्टीभित्र असन्तुष्टि सुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले महेश आचार्यको सपथ रोकेसँगै असन्तुष्टि सुरु भएको हो । आचार्यलाई आजै सपथ गराउने सभापति देउवाको तयार वरिष्ठ नेता पौडेलले फेल गराइ दिए । पहिला मन्त्रालय टुंगो लागेपछि मात्र सपथमा जाने नेता पौडेलको अडानपछि आचार्यको सपथ रोकिएको हो ।
मन्त्री छनोटमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले एकलौटी गरेको आरोप पौडेल पक्षले लगाएको छ । मापदण्ड नबनाई एकल ढंगले अघि बढ्न खोजेको भन्दै पौडेल समूहले सपथ लिनु अघि नै देउवाप्रति असन्तुष्टि जनाएको हो ।
अनामनगरस्थित सम्पर्क कार्यालयमा विहान भएको पौडेल पक्षीय नेताको बैठकले आफूहरुले कति वटा मन्त्रालय पाउने भन्ने यकिन नभएसम्म मन्त्रीमण्डलमा कसैलाई पनि नपठाउने निर्णय लिएको थियो ।
सोहीअनुसार प्रधानमन्त्री देउवाले कांग्रेसको संस्थापन पक्ष, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमलाई मात्रै समावेश गरी सरकार गठन गरेका हुन् । पौडेल पक्षले सपथ ग्रहणमा समेत उपस्थित नहुने जनाउ दिएपछि देउवाले टेलिफोन गरी ‘छलफलमार्फत सबै कुरा मिलाउने र सुरुमै गलत सन्देश जान नदिन’ आग्रह गरेका थिए । देउवाको आश्वासनपछि मात्रै पौडेलसहित उनी पक्षीय नेता सपथ ग्रहण कार्यक्रममा सहभागि भएका थिए ।