१२ बैशाख २०८१, बुधबार
Follow Us

संविधान संशोधनमा सहयोग गरे राप्रपालाई ४ मन्त्रालय

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७४, बिहीबार १०:१६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गरिने बताएका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा कांग्रेस सांसदहरुसंग छलफल गर्दै प्रधानमन्त्री देउवाले नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर फर्कन आग्रह गरे ।
यद्यपि मन्त्रिपरिषद विस्तार कहिलेसम्म गरिसक्ने र कुन कुन दललाई सहभागी गराउने भन्ने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आज छलफल हुँदैछ । कांग्रेस र माओवादी केन्द्रबिच मन्त्रालयको भागबण्डा मिल्न बाँकी नै रहेको र पार्टीहरु भित्र पनि मन्त्री बन्नेको नाम टुंगो लागि नसकेकाले थप छलफल हुन लागेको हो ।
कांग्रेस र माओवादी केन्द्रबिच मन्त्रालय बाँडफाँडमा कुरो मिल्न सकेको छैन । यस्तै कांग्रेसभित्रै पनि मन्त्री बन्नेको नामका बारेमा विवाद छ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्रालय नतोकी मन्त्री बन्नेको नाम मात्र माग गरेको भन्दै हिजो पहिलो चरणमा आफ्नो समूहबाट नाम पठाएको थिएन ।
यस्तै, सत्ता साझेदार मुख्य दुई दल राप्रपालाई पनि सरकारमा सहभागी गराउन सहमत भए पनि संविधान संशोधनमा प्रतिवद्धता जनाउनुपर्ने शर्त राखेका छन् ।
यस्तै कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधनमा सहमति नजनाए राप्रपालाई सरकारमा सहभागी गराउनुको अर्थ नहुने भन्दै त्यो प्रतिवद्धता जनाए राप्रपालाई चारवटा मन्त्रालय दिने तयारी गरेका छन् । तर राप्रपाले भने उपप्रधानमन्त्री पनि चाहिने माग गर्दै आएको छ । नेपाल लोकतान्त्रिक फोरमले भने अघिल्लो सरकारका मन्त्री जितेन्द्र देव र गोपाल दहितलाई नै निरन्तरता दिने भएको छ ।