११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतमा गुल्मेलीहरुको समर बिबिक्यूको तयारी तीब्र

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७३, बिहीबार १५:००

बृहत सहभागिताको अपेक्षा
लन्डन – गुल्मी जिल्ला समाज युकेले हरेक वर्ष बेलायतमा आयोजना गर्दै आइरहेको बार्षिक समर भेटघाट तथा बार्बेक्यू कार्यक्रम यस पटक आगामी अगस्ट ७ तारिक आईतवार अल्डरसटको कनट स्कुल प्रांगणमा आयोजना हुने भएको छ । उक्त बृहत भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी सम्प्रेषण गर्दै समाजले अधिकतम सहभागिताका लागी बेलायतमा बस्ने सम्पूर्ण गुल्मेली तथा गैर गुल्मेली नेपालीहरुमा आव्हान गरेको छ ।
समाजका सचिव तथा कार्यक्रम संयोजक बिर बलालका अनुसार कार्यक्रममा सांस्कृतिक तथा मनोरन्जनात्मक बिशिष्टता पस्किने गरी तयारी गरिएको छ ।
सांस्कृतिक मनोरंजनमा नेपालबाट आएका चर्चित कलाकारहरुको लोक प्रस्तुती संगै युरोपमै प्रसिद्दी कमाएको गुल्मेली नौमती बाजा, गुल्मेली झ्याउरे र भजन चुट्का जस्ता प्रस्तुतीले सदा झैँ बिशेष रौनक सृजना गर्ने आयोजकको तयारी रहेको छ । स्थानीय कलाकार हरुको नाच गानले समेत कार्यक्रममा थप मनोरंजन दिने तयारी रहेको कुरा सांस्कृतिक सचिव मुना सापकोटाले जनाएकी छन ।
खेलकुद तर्फ भलिवलमा खारिएका टिमको प्रतिस्प्रधात्मक प्रतियोगिता लगायत बच्चा हरुको लागी समेत बिबिध खेलकुद तथा मनोरंजनको व्यवस्था कार्यक्रममा गरिने छ । बार्बेक्यू तथा खानपानको जिम्मेवारी यसपटक अल्डरसटकै भेटघाट रेस्टुरेन्टले लिएको छ ।
दिनको १२ बजे देखी साँझ ८ बजे सम्म चल्ने खुला चौरको गुल्मेली मेलामा कार्यक्रमको औपचारिकतामा न्युनतम समय खर्चिदै मनोरंजन तर्फ नै कार्यक्रम तालिकाको ध्यान आकृष्ट गरिएको जानकारी महासचिव शिव भण्डारीले तयारी बैठकमा दिएका छन ।
नेपालमा गुल्मी जिल्लामा मात्रै नभएर देशभरी नै परोपकारी कार्य गरेर नाम कमाएको बेलायतका गुल्मेलीहरुको यो संस्थाले बेलायतमा आयोजना गर्ने बार्षिक भेटघाट कार्यक्रम उपस्थिती, मनोरंजन तथा खानपान व्यवस्थापनको हिसाबले निकै सफल र चर्चित मानिन्छ । कार्यक्रममा हजार भन्दा बढी मान्छे सहभागी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बयस्कको लागी १३ पाउण्ड शुल्क तोकिएको छ । केटाकेटीको हकमा ५ बर्ष मुनिको लागी निशुल्क र ५ देखी १२ बर्ष सम्मकाले ८ पाउण्ड तिर्ने छन ।
समाजका अध्यक्ष राम गलामीले बेलायतमा बसोवास गर्ने गुल्मेली मात्र नभएर सम्पूर्ण नेपालीहरु लाई गुल्मेली हरुले आयोजना गर्ने यो बिशेष मेलामा सहभागी हुन अनुरुध गरेका छन । “मनोरंजनका हिसाबले यो एउटा छुट्टै फेमिली आउटिंग बन्न सक्छ “, अध्यक्ष गलामीले भनेका छन ।
समाजले कार्यक्रमको बचत रकम परोपकारी कार्यमै खर्चिने छ ।
यसैबीच बेलायतका बर्मिन्घम , नोटिन्घम, साउथ ईस्ट लन्डन लगायतका बिभिन्न शहरहरु बाट कार्यक्रममा सहभागी हुन कोच बुक गरेर आउने तयारी भईसकेको जानकारी कार्यसमितीका बिष्णु ज्ञवालीले दिएका छन ।