८ बैशाख २०८१, शनिबार
Follow Us

वुमन एसोसिएसनद्वारा नेपालमा सहयोग

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७४, शुक्रबार ०८:४०

लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेले अटिजम केयर नेपाल सोसाइटीलाई आर्थिक सहयोग गरेको छ । एसोसिएसन अध्यक्ष आरती श्रेष्ठले हालै नेपालमा आयोजित एक कार्यक्रमबीच सोसाइटी अध्यक्ष डा. सुनिता मालेकु अमात्यलाई दुई हजार पाउण्ड (दुई लाख ५९ हजार रुपैयां) हस्तान्तरण गरेकी हुन् । एसोसिएसनले उक्त रकम बेलायतमा च्यारिटी गरि संकलन गरेको थियो । रकम हस्तान्तरण कार्यक्रममा एसोसिएसनकी संस्थापक संरक्षक डा. मिलन अधिकारी चालिसे पनि सहभागी थिइन् । सन् २००८, अप्रिल २ मा स्थापित सोसाइटीले नेपालमा अटिजम प्रभावित वालवालिकालाई रेखदेख गर्दै आएको छ ।

आर्थिक सहयोग ग्रहणपछि सोसाइटी अध्यक्ष अमात्यले बेलायतस्थित नेपाली महिलाहरुको संस्था वुमन एसोसिएसनप्रति आभार व्यक्त गरेकी छन् ।

सन् २०१४ मा स्थापित नेपलिज वुमन एसोसिएसन यूकेले हालसम्म चारवटा कफी मर्निङ, दुई वटा हस्तकला प्रदर्शनी, दुई च्यारिटी डिनर र नेपालमा भूकम्प पीडितलाई आर्थिक सहयोग गरिसकेको अध्यक्ष आरती श्रेष्ठले जनाइन् । पहिलो च्यारिटी डिनरबाट संकलित रकममध्ये संस्थाले प्रिजनर्स एसोसिएसन अफ नेपाललाई अढाई लाख रुपैयां प्रदान गरेको थियो । संस्थाले सन् २०१५ मा एमपी बीरेन्द्र शर्माको प्रमुख आतिथ्यमा दोश्रो च्यारिटी डिनर गरेको थियो जसमा रोयल बरो अफ केन्जिङटन र मेयर अफ लन्डन बरो अफ इलिङ विशेष अतिथी थिए । संस्थाले उक्त च्यारिटी डिनरसहित विभिन्न माध्यमबाट संकलित रकम ६ हजार ६ सय पाउण्ड लन्डनस्थित दूतावासमार्फत भूकम्प राहत कोषमा पठाएको थियो ।

बेलायत र नेपालका महिलाहरुको उत्प्रेरणा, सशक्तिकरण तथा हितका लागि क्रियाशिल उक्त एसोसिएसनले सन् २०१६ मा एमपी बीरेन्द्र शर्मा र इलिङ मेयरलाई एक साताको नेपाल भ्रमण गराएको थियो । उक्त भ्रमण एसोसिएसन अध्यक्ष आरती श्रेष्ठको विशेष पहलमा भएको हो । नेपाल भ्रमणका क्रममा सांसद बीरेन्द्र शर्माले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, विभिन्न सांसद र भूपू गोर्खाहरुसंग भेटवार्ता गरेका थिए ।

यसैबीच, एसोसिएसनले हालै कफी मर्निङ कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले १५ सदस्यीय आफ्नो संस्था गैर नाफा मुलक स्वयंसेवी संस्था भएको र यसले नेपाली महिलाहरुलाई उत्प्रेरणा र सशक्तिकरण प्रदान गर्ने उद्देश्य लिएर काम गरिरहेको बताइन् । अध्यक्ष श्रेष्ठले नेपाली महिलाहरुलाई सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सहभागी गराइ उनीहरुको सिप अभिवृद्धि, सहयोग प्रदान र एकापसमा सम्वन्ध विस्तार एवं अन्तरसंवाद गराउन तल्लीन रहेको समेत अवगत गराएकी थिइन् । श्रेष्ठले संस्थामा डा. मिलन अधिकारी संस्थापक संरक्षक र पुनम सुवेदी (राजदूत पत्नी) वर्तमान संरक्षक भएको पनि जनाइन् ।
श्रेष्ठले होलिडेमा नेपाल जांदा पनि सामाजिक काममा समर्पित गर्दै विपन्न तथा असहायलाई आर्थिक सहयोग गर्दै आएकी छन् ।