१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संविधान अनुरुप एनआरएन नागरिकता सुनिश्चित गर्न माग

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७४, सोमबार ०७:४०

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नवगठित सरकारका सरोकारवाला मन्त्रीहरुसँग भेटवार्ता गरी गैरआवासीय नेपाली संघका गतिबिधि र मुद्दाहरुबारे जानकारी गराउनुभएको छ।

अध्यक्ष घले नेतृत्वमा आइतबार -११जुन,२०१७) मा गएको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटघाट गर्‍यो। सर्वप्रथम संघका अध्यक्षले नवनियुक्ति उपप्रधानमन्त्री महरालाई बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो।

उहाँले मूलतः गैरआवासीय नेपाली संघका गतिविधिबारे जानकारी गराउँदै विदेशका कतिपय मुलुकमा नेपालीको बसोबास धेरै भएका स्थानमा कन्सुलेट सेवा उपलब्ध नभएको भन्दै ध्यानाकर्षण गराउनुभयो।

साथै उहाँले नेपालको संविधान २०७२ मा सामाजिक, आर्थिक तथा साँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भएको र सामाजिक, आर्थिक तथा साँस्कृतिक अधिकारको व्याख्या सबै नेपाली नागरिकहरु सरह हुनुपर्ने व्यवस्था अनुरुप कानुन निर्माणमा आवश्यक पहल गरिदिन पनि आग्रह गर्नु भयो।

बदलिंदो अन्तराष्ट्रिय परिवेषमा नेपालले अन्तराष्ट्रिय सम्बन्धबाट आपेक्षित पाइदा लिन नसकेको वताउँदै अध्यक्ष घलेले वाणिज्य दूतको नियुक्ति गर्दा स्थानियरुपमा स्थापित र क्षमतावान व्यक्तिहरुको पहिचान गर्नुपर्ने सुझाव दिनुभयो।

भेटका अबसरमा माननीय उपप्रधानमन्त्री महराले संघका अध्यक्षले राख्नु भएका विषयहरु समसामयिक र महत्वपूर्ण भएको हँंदा यसमा पहल गरिने जानकारी गराउनु भयो। उहाँले मन्त्रालयले वैदेशिक रोजगारीमा गएकाहरुको सुरक्षाको लागि एक अध्ययन कार्यदल गठन गर्न लागेको र यस कार्यमा संघसँग सहकार्यको लागि पहल गरिने वताउनु भयो।

यसैगरी मन्त्री महराले नियोगहरुको कार्य क्षमता बिकास गर्ने योजना रहेको भन्दै यसमा संघले सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो।

गृहमन्त्री शर्मासँग भेटवार्ता

यसैगरी संघका अध्यक्षको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले माननीय गृहमन्त्री जनार्दन शर्मासँग भेटघाट गर्‍यो। सर्वप्रथम संघका अध्यक्षले नवनियुक्ति गृहमन्त्री शर्मालाई हार्दिक बधाई दिँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो।

मुख्यतयाः भेटमा अध्यक्ष घलेले लाप्राक नमूना वस्ती परियोजनाका गतिविधिहरु र स्वयंमसेवक परिचालनबारे जानकारी गराउँदै सो परियोजनास्थलमा सुरक्षा चौकी स्थापनाको लागि अनुरोध गर्नुभयो। उहाँले भौगोलिक तथा मौसमका कारण यो परियोजना अत्यन्तै चुनौतिपूर्ण रहेको तथा कठिनाइका बाबजुद पनि तीस प्रतिशत काम सम्पन्न भएको अवगत गराउनु भयो।

अध्यक्ष घलेले नेपालको संविधान २०७२ मा सामाजिक, आर्थिक तथा साँस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भएको र सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको व्याख्या सबै नेपाली नागरिकहरु सरह हुनुपर्ने व्यवस्था अनुरुप कानुन निर्माणमा आवश्यक पहल गरिदिन हुन पनि आग्रह गर्नु भयो। माननीय गृहमन्त्रीले संविधानमा उल्लेख भएका बिषयहरुको सम्बोधन गरिने र गैरआवासीय नेपालीहरुसँग मिलेर देश बिकासमा धेरै काम गर्नुपर्ने बताउनु भयो। उहाँले लाप्राकमा अस्थायी सुरक्षा चौकि राख्न पहल गर्ने बताउँदै भेटका दौरान संघका अध्यक्षले उठाएका बिषय सम्बोधन गर्न तत्कालै पहल गर्ने जानकारी दिनुभयो।

भेटमा संघका तर्फबाट अमेरिकाज क्षेत्रिय संयोजक सोनाम लामा, सल्लाहाकार त्रिलोक गुरुङ्ग र सचिवालयका कार्यकारी निर्देशक राजेशशमसेर राणासमेतको सहभागिता थियो।