१२ बैशाख २०८१, बुधबार
Follow Us

जहाज किन्न कोषले रु बाह्र अर्ब ऋण दिने

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७४, सोमबार १४:२५

काठमाडौं । नागरिक लगानी कोष र नेपाल वायु सेवा निगमबीच ऋण सम्झौतामा आज हस्ताक्षर भएको छ । कोषको कार्यालयमा आयोजित सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गर्नुभयो । सम्झौतानुसार कोषले एउटा जहाज खरिदका लागि रु १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । यसअघि कर्मचारी सञ्चय कोषसँग मात्रै त्यस्तो ऋण लिने सम्झौतामा हस्ताक्षर हुने गरेको थियो ।

निगमले भने दोस्रो चरणमा सञ्चय कोषसँग नै ऋण सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । लगानी कोषले उपलब्ध गराउने रकमको व्याजदर नौ प्रतिशत रहनेछ । जहाज खरिदका लागि प्रदान गरिने लगानी कोषको रकमको व्याजदर पहिलो व्यावसायिक उडान नभएसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरिएको छ । उक्त जहाज खरिदका लागि कोषले उपलब्ध गराएको ऋणको भुक्तानी अवधि १५ वर्ष राखिएको छ ।

उडान क्षेत्रको व्यावसायिक योजनामा लगानी कोषले निगमलाई ऋण दिने कार्य पहिलो पटक गरिएको हो । यसबाट प्रत्यक्ष रुपमा आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा पर्यटन क्षेत्रमा थप विकास हुने अपेक्षा गरिएको छ ।

कोषले उपलब्ध गराएको रकमबाट निगमले एयर बस कम्पनीको वाइड बडी(ए ३३०–२००) सिरिजको जहाज खरिद गर्नेछ । लगानी कोष र निगमबीच ऋण उपलब्ध गराउने विषयमा गत वैशाख अन्तिम साता सहमति भएको थियो । लगानी कोषका कार्यकारी निर्देशक पोखरेलले नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि ५० जहाज जरुरी छ भन्दै आगामी दिनमा थप लगानीको अवसर खोजिने स्पष्ट पार्नुभयो । उहाँले नेपाल सरकारको जमानीमा ऋण रकम उपलब्ध गराइएको जानकारी पनि दिनुभयो । लगानी कोषका अध्यक्ष महाश्रम शर्माले मुलुकको आर्थिक क्षेत्रको विकास र प्रगतिमा सानो सहयोग गर्न पाउनु आफूहरुका लागि खुसीको विषय भएको बताउनुभयो ।

निगमका महाप्रबन्धक कंसाकारले आज भएको ऐतिहासिक सम्झौताले राष्ट्रिय ध्वजावाहकको उपस्थिति संसारका धेरै मुलुकमा हुने र मुलुकको पर्यटन उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्ने बताउँदै सञ्चय कोषसँग पनि छिट्टै ऋण सम्झौतामा हस्ताक्षर हुने जानकारी दिनुभयो ।
निगमले अमेरिकी कम्पनी एएआरसँग दुई जहाज खरिद गर्दैछ । अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय ध्वजावाहकको उपस्थिति देखाउने र आर्थिक समृद्धिको ढोका खोल्ने लक्ष्यका साथ रु २४ अर्ब लगानी गर्न लागिएको छ । निगमले गत फागुन ४ गते एएआरलाई १० लाख अमेरिकी डलर बैनाबापतको रकम उपलब्ध गराइसकेको छ । निगमले २८० सिट क्षमताका जहाज ल्याउने तयारी गरेको छ ।