१९ बैशाख २०८१, बुधबार
Follow Us

नयाँ सरकारसँगै इमिग्रेशनमा कड़ाइ, एउटै कम्पनीबाट नेपालीसहित ३५ जना गिरफ्तार

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७३, बिहीबार १९:१८

लण्डनको प्रसिद्ध फास्टफुड चेन बायरन बर्गरमा काम गर्ने ३५ जना आप्रवासीलाई गृहमन्त्रालयले एकै दिन गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका आप्रवासी गैरकानूनी तरिकाले बेलायतमा काम गरिरहेको दाबी छ । पक्राउ पर्नेमा नेपाललगायत इजिप्ट, अल्बानिया र ब्राजिलका नागरिक छन् । गृहमन्त्रालय स्रोतले नेपाली नागरिक समातिएको बताए पनि संख्या र व्यक्तिगत विवरण भने खुलाएको छैन । अमेरिकन स्टाइलको ह्यामबर्गरका निम्ति प्रसिद्ध मानिएको बायरन बर्गरका बेलायतमा ५६ वटा पसल छन् ।

कामदारहरू पक्राउ पर्नुमा कम्पनीकै धोका मुख्य कारण रहेको धेरैको अनुमान छ । बेलायतको सोसल मिडियामा बाइक ट बायरन भन्ने ट्रेन्ड नै चलेको छ । गत जुलाई ४ मा गृहमंत्रालयले छापा हानेर उक्त कामदार समाएको थियो । विभिन्न स्टोरमा काम गर्ने कामदार एकै ठाउँबाट समातिएका थिए । कम्पनीले ‘हेल्थ एन्ड सेफ्टी’ ट्रेनिंग दिने नाममा कामदारलाई एक ठाउँमा जम्मा परेको र गृहमन्त्रालयलाई पक्रिन सहयोग गरेको बताइन्छ । कम्पनीलाई गैरकानुनी कामदार राखेबापत गरिने जरीबाना बायरनलाई नगरिएबाट पनि यसमा कम्पनीकै पूर्ण हात रहेको अनुमान छ । गृहमन्त्रालयले कम्पनीले सहयोग गरेको बताएको छ । बेलायतका राजनीतिज्ञदेखि सर्वसाधारणसमेतले सोसल मिडियामा कम्पनीको उक्त कदमलाई अनैतिक, अमानवीय र धोकापूर्ण बताएका छन् ।

नयाँ सरकार बनेसँगै इमिग्रेशनमा कड़ाइ गरिने अनुमान गरिएको थियो । गृहमन्त्री हुँदा आप्रवासीहरू प्रति अनुदार रहंदै आएकी थेरेसा मे प्रधानमंत्री बनेसँगै थप कड़ा रूपमा प्रस्तुत हुने धेरैले आशंका गरेका थिए । कंजरभेटीभ पार्टी नेट माइग्रेशनलाई नियन्त्रण गर्ने चुनाबी मुद्दा लिएर निर्वाचित भएको थियो ।