१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विलेन लेक क्षेत्रमा बर्न्टओकवासीको रमाइलो वनभोज

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७४, सोमबार १५:२६

लण्डनको बर्न्टओक र त्यस वरिपरि बसोबास गर्ने नेपालीहरुले मिल्टन किन्सको प्रसिद्ध पर्यटकीय स्थल विलेन लेक क्षेत्रमा शनिबार रमाइलो बनभोजको आयोजना गरे।

बर्न्टओक नेपाली समाजको आयोजनामा झण्डै दुईसय जनाले सपरिवार बार्बेक्यु, नाचगान र विभिन्न कार्यक्रमहरु गरी रमाइलो गरेका थिए।

उक्त अवसरमा समारोहका प्रमुख अतिथि तथा ब्रिटेनमा बिहीबार भएको आमचुनावमा हेण्डन निर्वाचन क्षेत्रबाट पुनर्निर्वाचित सांसद डा. म्याथु अफोर्ड तथा श्रीमती अफोर्डलाई बधाइ तथा सम्मान ज्ञापन गरिएको थियो। कार्यक्रममा बोल्दै सांसद अफोर्डले ब्रिटेनस्थित नेपाली समुदायले बेलायतको सामाजिक, सांस्कृतिक, आर्थिक लगायत सबै क्षेत्रमा योगदान पुराइरहेकेा र आफुले त्यसको उच्च मूल्यांकन गरेको बताउनुभयो। उहाँले भूतपूर्व गोर्खाहरुको समस्या समाधानकालागि विगतमा पनि आफुले संसदमा आवाज उठाएको र आगामी दिनमा पनि यो विषयमा लागीरहने विश्वास दिलाउनुभयो। आउँदो सेप्टेम्बर महिनामा आफुले नेपाल भ्रमण गर्ने योजना बनाएको बताउँदै उहाँले यो भ्रमणमा दुई वर्ष अघि गएको विध्वंशात्मक भूकम्पपछि नेपालमा भएका पुनर्निर्माणका कामहरु हेर्ने आफ्नो इच्छा रहेको पनि उहाँले जनाउनुभयो।

सो अवसरमा सांसद अफोर्डले समाजका पूर्व अध्यक्षहरु उदय गुरुङ, लक्ष्य गुरुङ, महासचिव मोहन गुरुङ, आमा समूहकी अध्यक्ष कमला गुरुङ लगायत अन्य व्यक्तित्वहरुलाई खादा लगाएर सम्मान गर्नुभएको थियो। समाजको आजीवन सदस्यता लिएका नयाँ सदस्यहरुलाई पनि प्रमाणपत्र दिइएको थियो। सोही अवसरमा समाजको तर्फबाट ब्रिटेनस्थित म्याकमिलन क्यान्सर सोसाइटीकालागि संकलन गरिएको पौण्ड ६६९.७२ को चेक सांसद अफोर्डलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बार्नेट काउन्सिलका पूर्व मेयर ह्यु रेनर, श्रीमती रेनरलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमको शुरुमा समाजका अध्यक्ष रमेश गुरुङले सबै सहभागी तथा पाहुनाहरुलाई स्वागत गर्नुभएको थियो।

बर्न्टओक नेपाली समाजले आफ्ना सदस्य र तिनका परिवारकालागि हरेक वर्ष गृष्मकालिन घुमघाम कार्यक्रम आयोजना गर्दै आएको छ।

फोटो सौजन्य: मीना थापा