१३ बैशाख २०८१, बिहीबार
Follow Us

कतारमा नेपालीको भविष्य के हुन्छ ?

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७४, मंगलवार ०५:५३

काठमाडौं । आतकंवादी समूहलाई सहयोग गरी खाडी क्षेत्रमा अस्थिरता पैदा गर्न खोजेको आरोपमा मध्यपूर्वका ६ राष्ट्रले सम्बन्ध तोडेपछि कतार अहिले ‘घेराबन्दी’मा छ । खाद्यान्न र पानीमा परनिर्भर कतारले यो संकट कसरी पार लगाउला भन्ने चिन्ता त्यहाँ रहेका चार लाख नेपालीको परिवारमा बढी देखिन्छ । तर, कम्तिमा एक बर्षका लागि खाद्यान्न सुरक्षित रहेको भन्दै कतारले त्यहाँ रहेका विदेशीसहित तिनका परिवारलाई आश्वस्त बनाउने प्रयास गरिरहेको छ ।
नाकाबन्दीपछि त्यहाँ रहेका नेपालीको रोजगारी, दिनचर्या र खानपिनबारे नेपालमा स्वभाविक चिन्ता बढिरहँदा सरकारी अधिकारी भने ‘आत्तिनु’ पर्ने अवस्था नरहेको दावी गर्छन् ।
सामान्य अवस्थामा दैनिक सात-आठ सय नेपालीले कतारका लागि श्रम स्वीकृति लिन्थे । तर, छिमेकीको नाकाबन्दी खेप्न थालेपछि आर्थिक संकट क्रमशः गहिरिँदै जाने भयका कारण कतार जान इच्छुक नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्ला दिन तीन सय हाराहारीले मात्रै श्रम स्वीकृतिका लागि आवेदन दिइरहेका छन् । नाकाबन्दीभन्दा पनि कामदारको माग नै घट्दा नेपाली श्रमिकको कतार यात्रा सुस्ताएको सरकारी अधिकारीको विश्लेषण छ ।
विभागमा केही दिन यता श्रम स्वीकृतिका लागि नयाँको आवेदन खासै परेको छैन् । विदामा आएर फर्किनेको संख्या भने पूर्ववत् नै छ । कतार नेपालीका लागि मलेसियापछिको दोस्रो ठूलो श्रम गन्तव्य हो । तर, उसले व्यहोरेको पछिल्लो संकट गहिरिँदै गए त्यो गन्तब्य प्रभावित हुन सक्छ ।
यद्यपी कतार स्वयम्को अडान र उसले बनाउन खोजेको विश्वासको वातावरणका कारण त्यहाँ रहेका नेपाली तत्काल घरै फर्किन पर्ने अवस्थामा पुग्लान भन्नेमा सरकारी अधिकारी पनि विश्वस्त छैनन् ।
– सिर्जना राई