७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतीय प्रम मोदीले नेपाल भ्रमणको रुचि किन देखाए ?

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७४, मंगलवार ०६:०४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको होमवर्क सुरु भएको छ । परराष्ट्र मन्त्रालयले विशेष रुपमा तैयारी सुरु गरेपछि प्रधानमन्त्री स्तरमा भ्रमण आदान–प्रदान निश्चित देखिन्छ । मोदीको नेपाल भ्रमणका लागि सुरक्षा टोलीले प्रथम चरणको तयारी सकेर फर्किएको छ । यसपटकको मोदीको नेपाल भ्रमण लुम्बिनी, जनकपुर, मुक्तिनाथको भ्रमणसँग पनि जोडिएको छ भने पशुपतिनाथको दर्शन पनि गर्नेछन् । देउवा भारत भ्रमणमा जाँदा नै मोदीको नेपाल भ्रमणको तिथि तय हुनेछ । मोदी नेपाल आउनुमा चीनको नेपालमा आक्रामक प्रवेश मुख्य कारण रहेको जानकारहरु बताउँछन् ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले खुलासा गरेअनुसार मोदी अरुण तेश्रो जलविद्युत आयोजनाको उद्घाटन गर्न आउन लागेका हुन् । तर विज्ञहरु भन्छन्– कारण त्यतिमात्र होइन । प्रविधिका ज्ञाता मोदीले दिल्लीबाटै उद्घाटन गर्न सक्थे । उनी नेपालमा महामारीका रुपमा फैलदै गएको भारतविरोधी भावनालाई न्यूनिकरण गर्ने प्रयत्नको उद्देश्यसहित सशरीर नेपाल भ्रमणमा आउन लागेका हुन् ।
नेपाल–भारत सम्बन्धमा विचलन आएको छ । विज्ञ समूहले १९५० को सन्धी लगायतका मुद्दाहरुमा छलफल गरिरहेको छ । राजनीतिक सहमतिविना त्यो समूहले कुनै निष्कर्ष निकाल्न नसक्ने पक्का छ । मोदी नेपाल–भारत सम्बन्धका कमजोरीलाई सफा गरेर मजबुतीको बुनियाद हाल्न आउन लागेका हुन् । जसले सन २०२० सम्ममा चीनले नेपाललाई रेल लाइनले जोड्ने, जलविद्युतदेखि अनेक उद्योगमा चीनले लगानी बढाउने र ओविओआरमार्फत नेपाललाई पु¥याउन सक्ने आर्थिक लाभको सशक्तिकरणभन्दा भारतले दिनसक्ने आधारलाई महत्व दिन पनि आउन लागेका हुन् ।
स्मरणीय छ, भारत ओविओआरको विरोधमा छ । भारतकै कारण भुटान विरोधी बनेको छ र भारत नेपाललाई चीनको त्यो नयाँ सिल्करुटको विरोधमा उभ्याउन अथवा नेपालको भूमिका निस्कृय बनाउन रणनीतिमा पनि लागेको देखिन्छ ।
३ वर्ष अघि सन २०१४ को अगस्ट र १८औं सार्कमा नेपाल भ्रमण गरेका मोदीको यो हुन लागेको तेश्रो भ्रमण नेपालका लागिभन्दा पनि भारतका लागि बढी अर्थपूर्ण रुपमा विश्लेषण हुन थालेको छ ।