राज प्रसाद र एड्रियन फर्नहम्
संयुक्त अधिराज्यमा गत बिहीबार भएको मध्यावधि निर्वाचनमा कन्जरभेटिभ दलले संसद्मा बहुमत गुमाएको छ, जसबाट पुनःएक पटक राजनीतिक विज्ञ, मत सर्वेक्षणकर्ता र अन्य भविष्यवेत्ता गलत सावित भएका छन् । फेरी पनि यो अप्रत्यासित मत परिणामको कारणबारे विभिन्न व्याख्या र विश्लेषण आएका छन् ।

उदाहरणका लागि धेरै विश्लेषकले कन्जरभेटिभ थेरेसा मेले प्रभावकारी रुपले निर्वाचन प्रचारप्रसार गर्न नसकेको तथा जनमत सर्वेक्षणकर्ताले युवा मतदाताको सहभागिताको बारे यथार्थ आँकलन गर्न नसकेको उल्लेख गरेका छन् । साथै विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्विनले आपूmलाई दक्ष र आत्मविश्वासी देखाउन सक्षम भएका छन् । तर यी सबै विश्लेषण अनुपयुक्त हुन सक्छन् किनकि ती नितान्तरुपले निर्वाचन प्रचारप्रसार कसरी सञ्चालन भएको थियो भन्ने वारेमा मात्र केन्द्रीत छन् ।

निर्वाचन परिणामबारेको उपयुक्त स्पष्टीकरण मनोविज्ञान विधाबाट लिन सकिन्छ । यदि राजनीतिक पण्डित र विश्लेषकले मध्यावधि निर्वाचन सम्वन्धी स्थापित मनोविज्ञान तर्फ ध्यान दिएका भए मात्र पनि उनीहरुले संयुक्त अधिराज्यको निर्वाचन नतिजाको यथार्थ पूर्वानुमान गर्न सक्थे । सन् १९४५ यता बेलायतमा भएका आम निर्वाचनसम्बन्धी मतदान आँकडा तथा मत परिणामको बारेमा अध्ययन गरेका न्युयोर्क विश्वविद्यालयका राजनीति शास्त्री अलास्टेयर स्मिथले गरेको अनुसन्धानका अनुसार मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्रीको निर्णय प्राय प्रत्युत्पादक भएको देखिन्छ ।

निर्धारित समयभन्दा तीन वर्ष अगाडि नै आम निर्वाचन सम्पन्न गरेर प्रधानमन्त्री मेले गम्भीर तर अनुमानित गलत आँकलन गरेकी छन् । उहाँले निर्वाचन घोषणा गर्दा ताका आफ्नो पक्षमा रहेको जनमत मतदानका बेलामा वास्तविक मतमा परिणत हुनेछ भन्ने जुन अनुमान गर्नुभएको थियो, त्यो साकार भएन ।

बेलायतका पूर्व प्रधानमन्त्री ह्यारोल्ड विल्सनले पनि सन् १९७० मा मध्यावधि निर्वाचन घोषणा गरेर यस्तै गलत अनुमान गरेका थिए । विल्सनले त्यतिबेला लेवर दलको लोकप्रियताको फाइदा उठाउने सोचेका थिए । निर्वाचन घोषणापछिको चुनाव प्रचारप्रसारका क्रममा लेवर दलप्रतिको जनसमर्थन घट्यो र कन्जरभेटिभ दलले ६३० मध्ये ३३० सिटमा विजय हासिल ग-यो ।

त्यस्तै सन् १९९७ मा फ्रान्सका पूर्व राष्ट्रपति ज्याक सिराकको मध्यावधि संसदीय निर्वाचन गर्ने निर्णयको परिणाम स्वरुप विपक्षी बामपन्थी दलहरुले निर्वाचनमा व्यापक लाभ हासिल गरे । अष्ट्रेलियामा सन् १९९८ मा त्यही प्रकरण दोहोरियो ।

‘ब्रिटिस जर्नल अफ पोलिटिकल साइन्स’ मा प्रकाशित सन् २००३ मा गरिएको अध्ययनमा स्मिथले उल्लेख गरे अनुसार मध्यावधि निर्वाचन घोषणा गर्ने नेताको पक्षमा भएको जनसमर्थन निर्वाचनको समयसम्म घटेको पाइएको छ । स्मिथको विश्लेषणबाट के देखिन्छ भने मध्यावधि चुनाव घोषणा गर्दाताका कुनै पनि नेता जति धेरै जनप्रिय हुन्छन् निर्वाचनको प्रचारप्रसारको अवधिमा उनको जनसमर्थन घट्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ ।

जतिखेर अप्रिलमा प्रधानमन्त्री मेले मध्यावधि निर्वाचन गर्ने घोषणा गरिन् मत सर्वेक्षण अनुसार उनको पक्षमा यति धेरै जनमत थियो कि उनी अनि उनको दल कन्जरभेटिभ वा ‘टोरी’ ले अत्याधिक बहुमतले निर्वाचन जित्ने अपेक्षा गरेका थिए । तर स्मिथले तर्क गरेअनुसार निर्धारित समय भन्दा अगाडि घोषणा गरिएको निर्वाचन एउटा मनोवैज्ञानिक तासको खेल ‘पोकर’ जस्तै हो, जसमा मतदाताले आफू वा आफ्नो दलको पक्षमा रहेको व्यापक जनसमर्थनको आधारमा मध्यावधि निर्वाचन घोषणा गर्ने नेतालाई जिल्लाइदिन्छन् ।

प्रधानमन्त्री मेले देशको भविष्यको सम्भावनाबारे औषत मतदाता भन्दा आपूmसँग बढी जानकारी भएको हुँदा निर्वाचनमा आफ्नो हात बलियो भएको विश्वास गरेकी थिइन् । प्रधानमन्त्रीको हैसियतमा उहाँलाई संयुत्त अधिराज्यको निकट अवधिको आर्थिक स्थिति तथा युरोपेली संघसितको बे्रक्जिट वार्ताको सम्भावित परिणामको बारेमा पूर्ण रुपले जानकारी गराइएको थियो ।

तथापि स्मिथको सिद्धान्त बमोजिम मध्यावधि निर्वाचन गर्ने मेको निर्णयले आम मतदातामा उनले आफ्नो राजनीतिक पदलाई दह्रो बनाउने मनसायले आफूसँग भएको सूचना÷जानकारीको अनुचित फाइदा लिन खोजेको हुनसक्ने आशंका उत्पन्न गरेको देखिन्छ । यो कुराको पुष्टि गर्न स्मिथले बेलायती पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरले अवलम्बन गर्नुभएको मध्यावधि निर्वाचन घोषणा गर्ने रणनीतिको उदाहरण प्रस्तुत गरेका छन् । तर थ्याचरको निर्वाचन “पोकर खेल” रणनीति प्रधानमन्त्री मेको भन्दा विपरित थियो ।

सन् १९८२ मा फाकल्यान्ड युद्धमा विजय घोषणा गरेपछि मार्गरेट थ्याचर लोकप्रियताको शिखरमा थिइन् । सन् १९८४ को मे महिना भन्दा अगाडि निर्वाचन घोषणा गर्ने जरुरत नभए तापनि उनले आफ्नो अत्याधिक लोकप्रियतालाई अर्को पाँचवर्षे कार्यकालमा रुपान्तरण गर्ने मनसायले मध्यावधि निर्वाचनको घोषणा गर्न सक्थिन् । सन् १९८२ तिरका मत सर्वेक्षणले यदि थ्याचरले सो वर्षमा मध्यावधि चुनाव गराएमा उनले निश्चितरुपमा जित्नेतर्फ संकेत गरेका थिए । भविष्यको सम्भावित नीतिगत असफलताको जोखिम रहँदा रहँदै पनि यद्यपि थ्याचर सन् १९८३ सम्म पर्खिन् ।

थ्याचरले सो जोखिम कसरी आँकलन गर्न सकिन् भन्ने कुरा आगामी वर्षमा उनले गर्ने कार्यदक्षता को अनुमानमा आधारित थियो । भविष्यमा सिर्जना हुने सम्भावित समस्याको प्रभावकारी समाधान आपूmसित छ भन्ने विश्वास भएको अवस्थामा थ्याचरलाई मध्यावधि निर्वाचनमा गएर आफ्नो परीक्षण गर्न ठूलो जोखिम हुँदैनथ्यो । अर्कोतर्फ यदि उनले फाकल्यान्ड युद्धको विजयपछि हासिल गरेको लोकप्रियताको लाभ लिँदै मध्यावधि निर्वाचन घोषणा गर्ने लाालसा बढी हुने सम्भावना थियो ।

अन्ततः थ्याचरले सन् १९८३ को जुन महिनाको लागि निर्वाचन घोषणा गरिन् । सन् १९८३ जुन महिनामै निर्वाचन किन घोषणा गरियो भन्ने बारेमा थ्याचर र उनका वित्त मन्त्री निगेल लसनले पछि प्रकाशित आ–आफ्ना जीवनीमा उल्लेख गरेका छन् । उनीहरुको जीवनीमा उल्लेख भएअनुसार आगामी वर्षमा हुनसक्ने मूल्यवृद्धिको त्रास नै सन् १९८३ को जुन महिनामा मध्यावधि निर्वाचन घोषणा गर्ने प्रमुख कारण थियो । एक वर्ष गआडि नै निर्वाचन गराएर उनीहरुले मूल्यवृद्धिको कारण आफ्नो कन्जरभेटिभ दलको लोकप्रियतामा ह्रास आउनसक्ने सम्भावित स्थिति टार्न सफल भए ।

यस तथ्यबाट प्रमुख रुपमा के बुझिन्छ भने कुन समयमा निर्वाचन गराउने भन्ने कुराले तत्कालीन समयको राजनीतिक नेतृत्वले भविष्यमा कत्तिको राम्रो कार्यदक्षता देखाउन सक्छन् भन्ने उनीहरुको विश्वासलाई दर्शाउँछ । अन्य सबै कुराहरु यथावत रहेको अवस्थामा दक्ष सरकार निर्वाचन मार्फत मतदातामा जाने निर्णय गर्नुभन्दा अगाडि केही समयसम्म पर्खिने गर्दछन् भने आपूmलाई असुरक्षित भएको ठान्ने सरकारको नेतृत्वले आफ्नो लोकप्रियता उच्चतम भएको अवस्थामै निर्वाचनमा गएर त्यसको फाइदा उठाउन लालायित हुन्छन् ।

त्यसकारण स्मिथको सिद्धान्त अनुसार मध्यावधि निर्वाचन घोषणा गर्ने जोसुकै नेताले आफ्नो जनमत घट्ने अपेक्षा गर्नुपर्छ, जुनकुरा बेलायतमा भर्खरै भएको निर्वाचनमा देखियो । धेरै व्यक्तिले अपेक्षा गरेको भन्दा पनि थेरेसा मे आत्मविश्वास कम भएकी नेतृको रुपमा देखा परिन् । उनको नेतृत्वमा भएको निर्वाचन प्रचारप्रसार अभियान त्यति उत्साहजनक थिएन र उनको ‘सबल र स्थिर’ नेतृत्वको नारा खोक्रो सुनिएको थियो । तर निर्वाचन अभियान सुरु हुनु अगाडि नै थेरेसा मेको लज्जास्पद हारको अनुमान गर्न सकिन्थ्यो ।

रासस-प्रोजेक्ट सिन्डिीकेट (राज प्रसाद हार्ले स्ट्रिट लन्डन स्थित एक परामर्श मनोचिकित्सक हुन् । एड्रियन फर्नहम् लन्डनस्थित विश्वविद्यालय क्याम्पसमा मनोविज्ञानका प्राध्यापक हुन् ।)