१३ बैशाख २०८१, बिहीबार
Follow Us

निर्वाचनको मिति सार्ने प्रधानमन्त्रीको प्रस्ताव निर्वाचन आयोगद्वारा अस्वीकार

नेपालब्रिटेन डट कम्
१ असार २०७४, बिहीबार ०६:१६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको चुनाव सार्ने प्रस्ताव निर्वाचन आयोगले अस्वीकार गरेको छ । असार १४ गतेका लागि तोकिएको निर्वाचनमा भोलि उम्मेदवार मनोनय दर्ताको कार्यक्रम छ । प्रधानमन्त्री देउवाले प्रदेश २ र ५ को निर्वाचन पछि सार्दा के हुन्छ भनी आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको थियो । अन्तिम समयमा निर्वाचन सारे राजनीतिक दुर्घटना हुने ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ चेतावनी दिँदै प्रधानमन्त्रीको चुनाव सार्ने प्रस्ताव अस्वीकार गरेको हो ।
प्रधानमन्त्री देउवाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका बारेमा केन्द्रित रहेर सत्ताधारी दलका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारीहरुसँग बिहीबार बिहान छलफल गर्नुभएको थियो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक घटनाक्रमको निकासस्वरुप दोस्रो चरणको निर्वाचनका सम्बन्धमा राजनीतिक दलहरुबीच सहमति कायम गर्न भइरहेका प्रयास र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ ।
सो छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र अरू आयुक्तहरु सहभागी थिए । छलफलमा दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेताहरु कृष्ण सिटौला र विमलेन्द्र निधि तथा गृहमन्त्री जनार्दन शर्मासमेत सहभागी थिए ।