१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोर्खाल्याण्ड अनिश्चितकालका लागि बन्द

नेपालब्रिटेन डट कम्
२ असार २०७४, शुक्रबार ०९:१२

दार्जिलिङ् । पश्चिम बंगाल सरकारले बिद्यालयहरुमा बाङला भाषाको बाध्यकारी अध्ययन व्यवस्था गरेपछि नेपालीभाषी भारतीयको बसोवास रहेको दार्जिलिङ्गमा भाषा संरक्षणको आन्दोलन चर्किएको छ । अलग्गै गोर्खाल्याण्ड राज्यको माग राखेर आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले नेपाली भाषामाथि बंगाल सरकारले गरिरहेको अतिक्रमण रोक्नुपर्ने माग सहित आन्दोलन गरेको हो ।
बंगाल प्रहरीले बिहीबार गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा दिउँसोदेखि गोर्खाल्याण्डमा अनिश्चितकालीन बन्द सुरु भएको नेता निरा शर्माले जानकारी गराईन् ।
शर्माका अनुसार बिहान साढे ७ बजे गुरुङको घर पुगेको प्रहरीले घर र कार्यालयमा छापा मारेको थियो । गुरुङलाई गिरफ्तार गर्ने योजनासहित गए पनि उनलाई नभेटेपछि तोडफोड गरेको शर्माले बताइन् । दार्जिलिङमा दिनभर सवारीसाधन नचलेको र विद्यालय, कलकारखाना, सरकारी कार्यालयसमेत ठप्प भएको शर्माले बताइन् ।
प्रहरीले दार्जिलिङमा सातजना र कालेबुङमा तीनजनालाई पक्राउ गरेको खवरमा जनाइएको छ । बंगाल सरकारको ज्यादती बढ्दै गएको भन्दै उनले नेपालीभाषी भारतीय संकटमा रहेकाले सहयोग गर्न सबैलाई आह्वान गरे ।