१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकारद्वय भण्डारी र भट्ट पक्राउ

नेपालब्रिटेन डट कम्
३ असार २०७४, शनिबार १५:०३

भीमदत्तनगर । कञ्चनपुरका पत्रकारद्वय खेम भण्डारी र गणेशदत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका शुक्लाफाँटा नगरपालिकाका पूजा नाथ र कञ्चन नाथका परिवारले दिएको उजुरीका आधारमा भीमदत्तनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिकका प्रकाशक÷सम्पादक भण्डारी र सोही दैनिकका कार्यकारी सम्पादक रहेका भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पूजा र कञ्चनलाई केही दिनअघि प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही अघि बढाएको विषयमा मानशखण्ड दैनिकले समाचार सम्प्रेषण गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीम दाहालले प्रहरीको हिरासतमा रहेका कञ्चनका बुबा खेमराज नाथले छोरी र बहिनी पूजाका विषयमा निरन्तर सञ्चार माध्यममा समाचार आएर सामाजिक बेइज्जत भएको भन्दै सार्वजनिक अपराध ऐनअन्तर्गत पत्रकारलाई कारबाहीका लागि उजुरी दिएको बताउनुभयो ।

खेमराजको उजुरीका आधारमा पत्रकारद्वय भण्डारी र भट्टलाई नियन्त्रणमा लिइएको दाहालले जानकारी दिनुभयो । “खेमराजले उजुरीमा सञ्चारमाध्यमकै कारण बहिनी पूजाको स्वयम्वर समेत रोकिएको खुलाएका छन्,” उहाँले भन्नुभयो ।

लामो समयदेखि पत्रकारितामा सक्रिय भण्डारी न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष हुन् । उहाँले भीमदत्तनगरमा रेडियो महाकाली र मानसखण्ड दैनिक पत्रिका सञ्चालन गर्दै आउनुभएको छ । समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले खेद प्रकट गरेको छ । सो शाखाका अध्यक्ष विष्णु अवस्थीले पत्रकारद्वय भण्डारी र भट्टलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ ।