२६ बैशाख २०८१, बुधबार
Follow Us

राजपा नेता ठाकुर र महतो होटलमा लुक्न पुगे

नेपालब्रिटेन डट कम्
३ असार २०७४, शनिबार १५:५०

नवलपरासी । नवलपरासीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ता र प्रहरीबीच शनिबार झडप भएको छ । राजपा अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरसहित शीर्ष नेताहरु सहभागी कार्यक्रमस्थल पनि तनावपूर्ण बनेको छ । स्थानीय तह निर्वाचनको विरोधमा राजपाले नवलपरासीको सदरमुकाम परासीमा लाठीजुलुस प्रदर्शन गरेको थियो ।
लाठीजुलुसपछि बुद्धचोकमा आयोजित सभालाई राजपा संयोजक महन्थ ठाकुरले सम्बोधन गरिरहँदा एक्कासि कार्यक्रमस्थल तनावग्रस्त बनेको हो । कार्यक्रमस्थल नजिक रहेको मध्य नेपाल यातायत व्यवसायी समितिमा बसबाट लैजानका लागि नेकपा एमालेको प्रचार–प्रसारका लागि टिसर्टहरु राखिएको थियो । उक्त टिसर्टहरु महन्थ ठाकुरसहितका शीर्ष नेताहरुकै अगाडि जलाइएको थियो ।
केही कार्यकर्ताहरु टिसर्टहरु राखेको भन्दै मध्य नेपाल यातायात समितिमा पुगेर तोडफोड गर्न थालेपछि राजपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले केही सेल अश्रृग्यास र रबरको गोली प्रहार गरेको छ ।
तनाव भएपछि ठाकुरले बीचमै सम्बोधन छाडेका थिए । अश्रुग्यास प्रहार हुन थालेपछि ठाकुरसँगै राजेन्द्र महतो नजिकै रहेका होटलहरुमा लुक्न पुगेका थिए ।
नेता ह्रदयश त्रिपाठीले कार्यकर्तालाई संयम हुन आग्रह गरेका थिए । तर, स्थिति उग्र हुन थालेपछि प्रहरीले रबरको गोली र अश्रृग्यास प्रहार गरेको हो । रबरको गोली लागेर दुईजना घाइते भएका छन् ।