८ बैशाख २०८१, शनिबार
Follow Us

संविधान औचित्यका आधारमा संशोधन गर्न सकिन्छः ओली

नेपालब्रिटेन डट कम्
४ असार २०७४, आईतवार ०९:४७

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र मुलुकको स्वाभिमानमा आँच पु-याउने कुनै पनि कुरामा सौदाबाजी गर्न नसकिने बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमाले वैमनस्यताको अन्त्य गरेर समझदारी र सहकार्यमा सिङ्गै देशलाई लैजाने देशभक्त पार्टी हो, राष्ट्रिय एकता, मुलुकको हित र स्वाभिमानलाई लाभसँग सौदाबाजी गर्न सकिँदैन भन्नुभयो ।
उहाँले तराई मधेसमा एमाले विरोधीहरु नभएको उल्लेख गर्दै थप्नुभयो, “तराई मधेसमा एमालेका विरुद्ध अब आरोप लाग्न सक्दैन, हामीविरुद्ध भ्रम छर्ने काम भएको छ, त्यो भ्रमलाई चिर्न जरुरी छ ।” अध्यक्ष ओलीले सरकारको ध्यान संविधान कार्यान्वयन नभई विपरीत कुरामा गएको आरोप लगाउँदै संविधान औचित्यका आधारमा संशोधन गर्न सकिने तर बलजफ्ती देशलाई अहित पार्ने गरी प्रस्ताव आएमा एमालेलाई मान्य हुँदैन भन्नुभयो ।
आज पार्टी प्रवेश गर्नुभएकी राष्ट्रिय जनता पार्टीका कोषाध्यक्ष अनिता यादवलगायतलाई पार्टीमा स्वागत गर्दै उहाँले नवप्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिने जानकारी दिनुभयो ।

पन्ध्र जना एमालेमा
राजपाका केन्द्रीय कोषाध्यक्ष अनिता यादवसहित विभिन्न दलका १५ जना एमालेमा प्रवेश गर्नुभएको हो । अनिता तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुनुहुन्छ । यादवको २०६६ साल माघ ८ मा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा निधन भएपछि अनिता तमलोपामा सक्रिय भई दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । एमाले प्रवेश गर्दै अनिता यादवले माले नेतृत्वको सरकारले तराईको विकासमा देखाएको चासोले आफू एमालेप्रति आकर्षित भएको बताउनुभयो ।