८ बैशाख २०८१, शनिबार
Follow Us

वेम्बली एरेनामा फेरी रचियो इतिहास्

नेपालब्रिटेन डट कम्
४ असार २०७४, आईतवार ११:२१

लण्डन। लण्डनको वेम्बली एरेनामा नेपालका चारवटा चर्चित व्याण्डहरुले एकैपटक कार्यक्रम गरेर इतिहास रचेका छन्।

कुटुम्ब, एलबाट्रोस, एज व्याण्ड तथा ट्राभेलिङ व्याण्डका बिपुल क्षेत्रीले शनिबार साँझ हजारौं युवा दर्शकहरुलाई नचाएका थिए।

बी फेस्ट र पर्चा प्रोडक्सनद्वारा आयोजित जून फेस्टीभल २०१७ मा भाग लिन २५ जना कलाकारहरु गत बुधबार र बिहीबार लण्डन उत्रिएका थिए।

चर्चित कुटुम्ब व्याण्डका कलाकारहरुले बाँसुरी, सारङ्गी, धीमे, जस्ता बाजाहरु बजाउँदै आफ्नो प्रस्तुति गरेका थिए। त्यस्तै रक संगीतकालागि चर्चित द एज व्याण्डका कलाकारहरुले पनि आफ्ना एल्बमका गीतहरु सुनाएका थिए। एलबाट्रस व्याण्डका कलाकारहरुले पनि चर्चित गीतहरु प्रस्तुत गरेका थिए।

अर्का चर्चित गायक बिपुल क्षेत्रीले अल्लारे जीवन लगायतका लोकप्रिय गीतहरु गाउँदा दर्शकहरु रोमान्चित बनेका देखिन्थे।

यसअघि पर्चा प्रोडक्शनले नै अगष्ट २०१३ मा नेपथ्य व्याण्डलाई ल्याएर वेम्बली एरेनामा पहिलो नेपाली साँगीतिक कार्यक्रम आयोजना गरेको थियो।

गत महिना म्यानचेस्टरमा अमेरिक‌ी कलाकार आ‌रीयाना ग्रान्डेको कार्यक्रम पछि गरिएको हमला तथा हालै लण्डनमा गरिएका हमलाको पृष्ठभूमिमा वेम्ली एरेनामा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

मौसम पनि राम्रो रहेको र युवाहरुको ठूलो सहभागिताबाट आफुहरु निकै उत्साहित भएको आयोजकहरुले बताएका छन्।
2