१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूरोप सम्मेलनमा परराष्ट्र मन्त्रीलाई आमन्त्रण गरिने

नेपालब्रिटेन डट कम्
४ असार २०७४, आईतवार १५:१३

लन्डन । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय सम्मेलनको प्रमुख अतिथिका रुपमा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आमन्त्रण गरिने भएको छ ।
जुलाईको अन्तिम साता जर्मनीको फ्याङफर्डमा आयोजना हुने १० औं क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको रुपमा मन्त्री महरालाई आमन्त्रण गरिने निर्णय भएको गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्यले जानकारी दिए ।
गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रको आइतबार सम्पन्न बैठकले मन्त्री महरालगायत यूरोपस्थित नेपाली मिसनका प्रमुखहरुलाई क्षेत्रीय सम्मेलनमा आमन्त्रण गर्ने निर्णय गरेको हो ।

गैरआवासीय नेपाली संघको काठमाडौंमा बन्दै गरेको भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन केन्द्रीत हुने सम्मेलनमा प्रायोजकहरुलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकले गैरआवासीय नेपाली संघको यूरोप क्षेत्र राष्ट्रिय समितिहरुमा एक–एक जना संयोजक तोकेर आर्थिक संकलनलाई तिब्रता दिने निर्णय भएको छ ।

यस्तै बैठकले ५ सय यूरो भन्दा बढी सहयोग गर्ने दातालाई सम्मेलनको रजिष्ट्रेशन शुल्क मिनाहा गर्ने निर्णय भएको छ । यूरोपस्थित गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको उपस्थितमा सम्पन्न बैठकले यूरोपमा नेपाली समुदायद्वारा सञ्चालित व्यवसायिक घरानालाई आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।
क्षेत्रीय सम्मेलनको तयारी समीक्षा गर्न आइतबार बसेको बैठकले सम्मेलनको तयारीलाई तिब्रता दिने निर्णय गरेको छ ।
सांस्कृति कार्यक्रम संयोजनको जिम्मा गैरआवासीय नेपाली संघ जर्मनीलाई दिदै २७ जुलाई शुक्रबार र २८ जुलाई साँझ बिषेश साँस्कृति कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले अतिथिहरुको निमन्त्रणाको सम्पूर्ण जिम्मेवारी यूरोप संयोजक कुल आचार्य, एनआरएन जर्मनीका अध्यक्ष नवराज रोसियारलाई दिने निर्णय भएको छ । यस्तै होटल तथा टुर व्यवस्थापनको जिम्मा सपिला राजभण्डारी, अतिथि सत्कारको जिम्मा दावा शेर्पालाई दिइएको छ ।

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेको बिषेश उपस्थितिमा सम्पन्न बैठकमा उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्री केसी, सचिव अर्जुन श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी लगायतको उपस्थिति थियो ।

बैठकमा यूरोप सम्मेलनको सम्पूर्ण कार्यक्रमको विवरण तयार पार्न महासचिव डा. बद्री केसीलाई जिम्मा लगाएको छ । यस्तै बैठकले विगत बर्षमा जस्तै गैरआवासीय नेपाली संघको अभियानमा यूरोप क्षेत्रमा उत्कृष्ट योगदान पु-याउने तीन जना अग्रजलाई सम्मान गर्ने निर्णय गरेको छ ।
यसअघि एनआरएन यूरोप बैठक सचिवालय समितिको बैठकले तयार परेको विभिन्न प्रस्तावलाई आइतबारको बैठकले अनुमोदन गरेको छ ।1