६ बैशाख २०८१, बिहीबार
Follow Us

ज्योतिषलाई हेराएर प्रधानमन्त्री देउवा बालुवाटारमा

नेपालब्रिटेन डट कम्
५ असार २०७४, सोमबार ०७:१२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नुभएको छ । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आउनुभएका उहाँ आज बिहान बालुवाटार सर्नुभएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५:२२ बजेको उत्तम साइत जुराइ दिएपछि सोहीअनुसार नै उहाँ बिहानै पूजापाठ गरी सर्नुभएको हो । जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि उहाँले ज्योतिषीले जुराइ दिएको साइतको समयमा नै लिनुभएको थियो ।
बिहान सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए भने सो अवसरमा उहाँको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री देउवाको शपथ समारोहकै दिनदेखि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सर्नुभएपछि बालुवाटारको सरकारी निवास खाली थियो । यस अवधिमा सहरी विकास तथा भवन निर्माण विभागले उक्त सरकारी निवासको मर्मत सम्भार एवम् रङरोगन गरेको थियो ।