१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आम मतदाता ढुक्क

नेपालब्रिटेन डट कम्
५ असार २०७४, सोमबार ०७:१४

नेपालगन्ज । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै अब चुनाव हुन्छ भन्नेमा बाँकेका आममतदाता ढुक्क भएका छन् । स्थानीय तहको निर्वाचनका लागि हिजो भएको उम्मेदवारी दर्ता बाँकेमा धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो ।

‘निर्वाचनका मिति सरी रहने भएकाले चुनाव हुन्छ कि हुन्न भन्ने जुन आशङ्का आम मतदातामा थियो, उम्मेदवारी दर्ता भएपछि अब त्यो हटेर गएको छ’—नेपालगन्ज– १० का रामविलास यादवले बताउनुभयो ।

बाँकेमा दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेका छन् । तीमध्ये नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा मात्र ८१ पदमा राजनीतिक दलबीच प्रतिस्पर्धा हुनेछ ।

चुनाव प्रचारका लागि यहाँका राजनीतिक दलले टोल÷टोलमा नाचगान गर्दै घरदैलो, चोकचोकमा सभा र माइकिङ गर्ने कामलाई तिव्रता दिएको छ भने मतदातालाई प्रभावमा पार्न सक्ने चुनावी प्रचार सामग्री वितरणलगायत प्रचार अभियानलाई पनि तिव्रता दिएको छ ।

यहाँका सबै राजनीतिक दलले आप्mनो चुनावी एजेन्डामा जिल्लाको सामाजिक सद्भावलाई प्रमुख रुपमा उठाएकाले पनि मुस्लिम, मधेसी, थारु र पहाडी समुदायलगायत विभिन्न जातजाति, र जनजातिको अभूतपूर्व सहभागिता निर्वाचन प्रचारका क्रममा देख्न सकिन्छ ।

यसका साथै मुस्लिम समुदायको नजिकिँएको रमजान पर्वमा प्रत्येक दिनको साँझ रोजा खोलिने समयमा सबै राजनीतिक दलका नेता, उम्मेदवार, अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवाको मस्जिदमा हुने सामूहिक सहभागिता र खानपानले पनि सामाजिक सद्भावको अनुपम नमूनाको सन्देश दिएको छ ।

हाम्रो सामाजिक एकतालाई कुनै पनि राजनीतिक प्रतिस्पर्धाले तोडन सक्दैन, बाँके जिल्लाको सामाजिक सद्भाव त झन उदाहरणीय नै छ’—मुस्लिम समाजका अगुवा एवम् सामाजिक अभियन्ता परवेजअलि सिद्धिकीले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा हुन सक्ने अराजक गतिविधिलाई ध्यानमा राखेर जिल्लाको सुरक्षालाई थप सुदृढ बनाउन जिल्ला सुरक्षा समितिले नियमित बैठक, राजनीतिक दल तथा अधिकारकर्मी, पत्रकारसँग छलफल समेत गर्दै आएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले राससलाई बताउनुभयो ।

आम मतदाताले सहज रुपमा मतदान प्रक्रियामा सहभागी हुन सकुन भन्ने उद्देश्यले जिल्लाका १३६ मतदानस्थलका लागि २९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

त्यसैगरी, निर्वाचन अघि र पछिको समयमा जिल्लाको सुरक्षा अवस्थालाई सुदृढ बनाउन जिल्ला सुरक्षा समितिले रणनीतिक योजना समेत निर्माण गर्ने प्रक्रियालाई अघि बढाइएको समितिका अध्यक्ष प्रजिअ पन्थले बताउनुभयो ।

‘सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि तयार गरेको सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजना अन्तर्गत जिल्लाको ४० स्थानमा सशस्त्र प्रहरी पोष्ट र १५ स्थानमा नेपाली सेनालाई तैनाथीको अवस्थामा राखिसकेका छौ’—उहाँले भन्नुभयो ।

सुरक्षा व्यवस्थापनअन्तर्गत भारत र नेपालको संयुक्त सुरक्षा फौजले सीमा क्षेत्रमा संयुक्त गस्ती गरिरहेको, गाउँबस्ती, सहरका टोल÷टोलमा सुरक्षालाई थप चुस्त बनाइएको पनि प्रजिअ पन्थले जानकारी दिनुभयो ।

यसैबीच गृहमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा आज नेपालगन्जमा क्षेत्रस्तरीय सुरक्षा सम्मेलन हुने कार्यक्रम तय भएको छ ।

प्रजिअ पन्थकाअनुसार, बाँके, बर्दिया, रोल्पा, प्यूठान, दाङ र रुकुम जिल्लाका सुरक्षा समितिका पदाधिकारीको सम्मेलनमा सहभागिता हुने छ । सम्मेलन निर्वाचन सुरक्षाका विषयमा बढी केन्द्रीत हुने बताइएको छ ।