७ बैशाख २०८१, शुक्रबार
Follow Us

आकासमै जन्मियो बच्चा

नेपालब्रिटेन डट कम्
५ असार २०७४, सोमबार १५:००

मुम्बइ । एक भारतीय महिलाले जहाजमा यात्रा गरिरहेको समयमा आकासमै बच्चा जन्माएकी छिन् । अन्तर्राष्ट्रिय उडान भरिरहेको सो विमान करिब ३५ हजार फिटको उचाइमा रहेका बेला विमानमा नै उनले छोरा जन्माएकी हुन् ।
नाम नखुलाइएकी एक २० बर्षीया भारतीय महिलाले उनलाई चिकित्सकले दिएको समय भन्दा अगावै सो बच्चा जन्माएको बताइएको छ ।
साउदी अरेबियाको दामानबाट दक्षिण भारतीय राज्य केरलाको कोचीतर्फ गइरहेको जेट एयरवेजको बोइङ ७३७ विमानमा बच्चा जन्मिएको हो । जेट एयरवेजले प्रकाशन गरेको विज्ञप्तिमा उडानकै क्रममा बच्चा जन्मिएपछि विमानलाई मुम्बइमा अवतरण गराई ती आमा र बच्चालाई अस्पताल पु-याइएको छ ।
बच्चा र आमाको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको छ । विमानमा बच्चा जन्मिने क्रममा विमानमा रहेका स्वास्थ्य कार्यकर्ता र विमानका कर्मचारीले सहयोग गरेका थिए । बोइङ्ग ७३७ उडानमा १६२ जना यात्रु सवार रहेका र मुम्बइमा सो विमान अवतरण गरिएको उक्त एयरवेजले जनाएको छ ।
ती महिला र नवजात शिशुलाई विमानस्थल नजिकैको अस्पतालमा लगिएको बताइएको छ । उक्त एयरवेजले पहिलो पटक आफ्नो एयरवेजमा यसरी आकासमै बच्चा जन्मिएको जनाएको छ ।
मुम्बइको होली स्पिरिट अस्पतालले एएफपी समाचार समितलाई बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको जानकारी दिएको छ ।
जेट एयरवेजले यसप्रकार विमानमा बच्चा जन्मिएको यो पहिलो पटक भएको र ती बच्चालाई उनको जीवनभरी एयरलाइन्सले निःशुल्क यात्रा गराउने बताएको छ ।
गत अगस्तमा पनि संयुक्त अरब इमिरेट्सको फिलिपिन्स गइरहेको विमानमा यसरी नै बच्चा जन्मिएको थियो । सो विमानलाई दक्षिणी भारतीय सहर हैदरावादमा आकस्मिक अवतरण गराई आमा र बच्चालाई नजिकैको अस्पताल पु-याइएको थियो ।