८ बैशाख २०८१, शनिबार
Follow Us

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र चिह्न आज प्रदान गरिने

नेपालब्रिटेन डट कम्
६ असार २०७४, मंगलवार ०५:०६

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत आइतवार उम्मेदवारी मनोनयन गरेकाहरुको अन्तिम नामावली आज प्रकाशित गरिँदै छ । आफ्नो नाम फिर्ता लिन चाहने उम्मेदवारले बिहान ८ बजेदेखि ११ बजेसम्म फिर्ता लिन सक्ने छन् भने ११ बजेदेखि साढे ११ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने छ ।
आजै उम्मेदवारहरुले चुनाव चिह्न पनि पाउने छन् । निर्वाचन आयोगले सम्बन्धित केन्द्रहरुमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र चुनाव चिह्न प्रदान गर्ने छ । उम्मेदवारहरुमाथि दावी विरोधको सूचना दिने र छानबीन गर्ने समय भने हिजो साँझसम्मका लागि तोकिएको थियो । असार १४ गते हुने ३ सय ३४ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले आइतवार मनोनयनपत्र दर्ता गराएका थिए ।
मनोनयनसँगै उम्मेदवारका साथै नेता कार्यकर्ता चुनावी मैदानमा ओर्लिसकेका छन् । उनीहरु घरदैलो कार्यक्रममा ब्यस्त छन् भने प्रचार प्रसारको अभियान तीब्र बनाइएको छ । तीन वटा प्रदेशको एक महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ वटा गाउँपालिकाका लागि मनोनयन दर्ता गरिएको हो ।
यो चुनावबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुने छन् । दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ मा निर्वाचन गर्न लागिएको हो भने २ नम्बर प्रदेशको चुनाव भने असोज २ का लागि तोकिएको छ ।