१५ चैत्र २०८०, बिहीबार
Follow Us

तारा नेसनल योङ राइटर्स अवार्डको टप टेनमा

नेपालब्रिटेन डट कम्
६ असार २०७४, मंगलवार ११:१६

लन्डन । बेलायतभरिबाट टप टेनमा छानिएपछि एउटी स्कुले किशोरीले राष्ट्रिय लेखन प्रतियोगिता जित्ने मौका पाएकी छिन् । उप्टन कोर्ट ग्रामर स्कुलकी छात्रा १३ वर्षीया तारा सापकोटाले नेसनल योङ राइटर्स अवार्डस २०१७ को क्षेत्रीय राउन्ड जितेकी छिन् ।
स्लोघकी ताराले ‘सिड अफ लाइफ’ नामको कथाबाट निर्णायकहरुको मन जितेकी हुन् । जसमा मानिसहरुको एउटा समूह रहस्यमय रोगको उपचार खोज्दै अर्को ग्रहमा पुग्छ ।
यी भाग्यमानी राष्ट्रिय विजेतालाई उनीहरुकै स्कुलमा वाइल्डलाइफ टेलिभिजनका प्रस्तोता तथा राइटर स्टिभ ब्याकसालले पुरस्कृत गर्नेछन् । स्टिभले विजेतालाई एउटा ट्रफी, विजेता र उनका परिवारलाई डिस्नेल्यान्ड पेरिसको ट्रिप तथा उनीहरुको स्कुललाई पाँच सय पौन्डको पुस्तक प्रदान गर्ने बताइएको छ । प्रतियोगिता आयोजना गर्ने एक्सप्लोर लर्निङका पाठ्यक्रम प्रमुख कारे अन्न डोडाह भन्छन्, ‘यो वर्षको योङ राइटर्स अवार्डले थुप्रैलाई आकर्षित गरेको छ । टप टेन छनोट साँच्चिकै गर्वको विषय हो ।’
तारा बेलायतभरका १० हजारभन्दा बढी प्रतिस्पर्धीबाट टप टेनमा छानिएकी हुन् । उनको प्रयासका लागि उनले विभिन्न उपहार पाएकी छिन् । उनलाई प्रमाणपत्र पनि दिइएको प्राप्त समाचारमा उल्लेख छ । ताराले उनको कथा प्रथम पुरुषमा लेखेकी छिन् । जसमा उनले पाठकलाई डायरी लेखे झैं गरी सिधै सम्बोधन गरेकी छिन् ।