१५ चैत्र २०८०, बिहीबार
Follow Us

गुरुङको अध्यक्षतामा संयुक्त ‘प्यानल’ घोषणा

नेपालब्रिटेन डट कम्
७ असार २०७४, बुधबार ०८:०१

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा संयुक्त व्यावसायिक समूहबाट रोहन गुरुङको अध्यक्षतामा ‘प्यानल’ घोषणा भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको यही असार ३० गते हुने २५औँ साधारणसभाबाट सङ्घको नयाँ नेतृत्व चयन हुँदैछ । व्यवसायीका विभिन्न ६ संस्थाले तालमेल गरेर मङ्गलबार उम्मेदवार घोषणा सभा गरी गुरुङको अध्यक्षतामा प्यानल सार्वजनिक गरेका हुन् ।
समूहमा नेकपा (एमाले) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार तमुधी समाज, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाज रहेका छन् ।
यो समूहबाट प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, द्वितीय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाल, सचिवमा ईश्वर जिसी र कोषाध्यक्षमा रमिला ताम्राकार रोकाया मगरले उम्मेदवारी घोषणा गर्नुभयो । ‘वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने’ आफ्नो समूहको प्रमुख कार्यसूची रहेको घोषणा सभामा अध्यक्षका उम्मेदवार गुरुङले बताउनुभयो ।
व्यवसायीले लिने सेवा र शुल्कबाट केही रकम व्यवसायी भलाइ कोषमा जम्मा गरी सो रकमबाट नयाँ गन्तव्य मुलुकको खोजी गर्ने, कामदार समस्यामा पर्दा उद्धार गर्ने, सङ्घको आफ्नै भवन निर्माण गर्ने, व्यवसायीको निधन भएमा निजको परिवारलाई रु १५ लाख सहयोग गर्ने लगायतका योजना रहेको उहाँले जानकारी दिनुभयो ।
प्रतिकामदार एक महिनाको तलबलाई सेवा शुल्कबापत लिन पाउने व्यवस्था मिलाउने, गन्तव्य मुलुकसँग श्रम सम्झौता गराउन सरकारलाई दबाब दिने, व्यवसायीबीच रहेको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्ने, अनलाइन सफ्टवेयर विकास गरी देशभरबाट विदेश जान चाहने युवाको विवरण लिने र सोझै मेनपावरमार्फत जाने व्यवस्था मिलाउने लगायतका आफ्ना कार्यसूची उम्मेदवार घोषणा सभामा गुरुङले प्रस्तुत गर्नुभयो ।
नेपाली काँग्रेसनिकट नेपाल वैदेशिक रोजगार लोकतान्त्रिक फोरमले सङ्घका वर्तमान अध्यक्ष बिमल ढकाललाई नै अध्यक्षमा पुनः निरन्तरता दिने तयारी गरेपनि अन्य पदाधिकारीको नाम अझै सार्वजनिक गरेको छैन ।