६ बैशाख २०८१, बिहीबार
Follow Us

एमाले उम्मेदवारको घरमा बम विस्फोट, एकजना गम्भीर घाइते

नेपालब्रिटेन डट कम्
७ असार २०७४, बुधबार ०८:०९

खोटाङ । नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो ।
नचिनिएको समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते हुनुभएको छ । उहाँको दुवै खुट्टा डढ्नुका साथै चोट लागेको उम्मेदवार चौहानका भतिज दानबहादुर चौहानले बताउनुभयो । शकुन्तलाको दाहिने खुट्टाको फिलामा समेत गहिरो चोट लागेको छ । पहिलोपल्ट हानिएको बम विस्फोट नभएपछि तत्काल दोस्रो बम हानिएको स्थानीयवासीले बताएका छन् ।
चौहान परिवारका अनुसार अपरिचित दुई युवकले स्थानीयवासी कृष्ण खत्रीको घर सोधेर गएको आधा घन्टापछि बम विस्फोट भएको हो । उम्मेदवार चौहान चुनावी घरदैलो अभियानमै रहेको समयमा विस्फोट गराइएको हो । बम विस्फोटबाट भान्साकोठामा जमिन फाटेको छ । चौहानको घरमा सुतली बम विस्फोट भएको अनुमान गरिएको प्रजिअ प्रल्हाद पोखरेलले बताउनुभयो । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट गराइएको एमाले खोटाङका अध्यक्ष बबी चाम्लिङले आशंका व्यक्त गर्नुभयो ।