८ बैशाख २०८१, शनिबार
Follow Us

सुडान घोटालाका दोषी चार पूर्व उच्च प्रहरी अधिकृत जेल चलान

नेपालब्रिटेन डट कम्
७ असार २०७४, बुधबार १४:३४

काठमाडौं । सुडान घोटाला प्रकरणमा दोषी ठहर गरिएका चार पूर्वउच्च प्रहरी अधिकृतले आत्मसमर्पण गरेका छन् । दोषी ठहर गरिएका तीन पूर्वप्रहरी महानिरीक्षकमध्ये हेमबहादुर गुरुङ र ओमविक्रम राणा तथा पूर्वएआईजी दीपक थाङ्देन र पूर्वडीआईजी दीपक श्रेष्ठले आज सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका हुन् ।
अदालतको आदेशअनुसार उनीहरुलाई सदरखोर डिल्लीबजार चलान गरिएको छ । तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले बैशाख १७ गते सुडानको डार्फरमा पठाइने एपीसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरुलाई कैद र जरिवानाको सजाय सुनाएको थियो ।
फैसलाको झण्डै तीन सातापछि चार जनाले आत्मसमर्पण गरेपनि दोषी ठहर भएका अर्का तत्कालिन प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरी र प्रहरी अधिकृतद्वय श्यामसिंह थापा र रवीप्रताप राणा तथा ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारती भने अझै कानूनको दायरामा आएका छैनन् । सर्वोच्चले राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवानाको सजाय सुनाएको थियो ।