८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन यूकेका पदबहादुरहरू !

नेपालब्रिटेन डट कम्
८ असार २०७४, बिहीबार ०७:३४

लण्डन । एनआरएन युकेको अधिवेशन (सोझो अर्थमा चुनाब) केही महिनामा आउँदै छ । निर्वाचन समिति पनि बनिसकेको छ ।
सदस्य बनाउने क्रम सुरु भएको छ । जो उम्मेदवार बन्दै छन्, ती विशेष तातेका छन् सदस्य बनाउन ।
गत साल निर्वाचन समितिले अन्तिम घड़ीमा आएर उम्मेदवार बनेका मात्रै होइन, उम्मेदवारी नै नदिएका समेत सबैलाई निर्वाचित भनेर घोषणा गरेको थियो । एउटा पदमा पछि विधान संशोधन गर्ने गरी पाँच जना निर्वाचित भएका थिए । सदस्यभन्दा पदाधिकारी बढ़ी भएको अनौठो कार्यसमिति बनेको थियो । निर्वाचन समितिमाथि बाह्य दबाब थियो र दबाबको जीत भएको थियो ।

सहमति र समेट्ने प्रयोजनका लागि पद सिर्जना गरेर बाँडिएको बताइएकाले पद पाएपछिमात्रै सहमति गर्ने हाम्रो उदार चरित्र देखिएको थियो । आगामी कार्यकालमा सच्याएर जाने भनिएकाले विरोध जनाए पनि असहयोग गरिएन ।

म पनि निर्वाचित सदस्य रहेको कार्यसमितिले खास उपलब्धि केही गर्न नसके पनि पहिलेझैँ झगड़ा भने भएन । पदका निम्ति मरिहत्ते गरेर पद हत्याउन सफल धेरै जसो त मिटिंगमा पनि देखिएनन् । केही गर्न नसक्नुको जिम्मेबारी मेरो पनि हो । अध्यक्षको केही गर्ने ठूलो धोको, मिहिनेत र हौसला भने सधै रहिरह्यो ।

तर हालसम्म चार सय सदस्यले पनि सदस्यता नवीकरण नगरेको एनआरएनमा ६ जना उपाध्यक्ष र त्यसैगरी अन्य पदाधिकारीलाई पनि निरन्तरता दिएर जाने भन्ने कुरोमा फेरि छलफल हुनु आवश्यक छ । एक पटक बिग्रिएको संस्कार सच्याउनुको साटो त्यसलाई निरन्तरता दिनु पक्कै जायज होइन ।

फेरि केही थान मैं जस्ता पदलोलुप मान्छेहरूलाई उपाध्यक्ष बनाउन मात्रै सदस्य बन्ने हो या अन्य केही प्रयोजन छ भन्ने छुट्याउन सजिलो छैन । हामीले स्वस्फूर्त रूपमा सदस्य बन्न भीड़ लाग्ने गरी संस्थाको औचित्य र भूमिका बारे बुझाउन सकेनौं । कतिपय त हामी आफैले बुझेका छैनौं, अरूलाई के बुझाउने ।

गत चुनाबले तय गरेको गलत बाटोलाई सच्याएर बढ़ीमा दुई वटा उपाध्यक्ष ९एक महिला० र चुस्त संगठनको निर्माण हुनु जरूरी छ । सचिब क, सचिब ख, सचिब ग जस्ता पदको औचित्य पुष्टि हुनु जरूरी छ ।

एक घण्टा ढिलो गरी चिट्ठी आउँदा सदस्यता नै बन्न नपाइने तर चुनाबमा विजयी बन्न उम्मेदवारी सम्म दिनुनपर्ने अवस्थाले संगठनलाई बलियो बनाउँदैन । सदस्यभन्दा पदाधिकारी बढ़ी भएको कार्यसमितिको संरचनाले संगठनको गरिमा बोक्दैन ।

एनआरएनप्रतिको निराशा र वितृष्णाको कारण यो पनि एक हो । यहाँको प्राज्ञिक वर्ग अझै संस्थाबाट टाढा छ ।
अध्यक्षमा उम्मेदवारी दिएर उपाध्यक्ष निर्वाचित हुने संस्कार तोड्ने र संस्थालाई यसको स्वाभाविक संरचनामा फर्काएर यसको गरिमा कायम गर्ने अवस्था नभएसम्म सदस्य बनेर मजस्ता केहीको पदमा पुग्ने भऱ्याङ मात्र बन्नेमात्रै हो ।

एनआरएन मजस्ता केही व्यक्तिको निजी संस्था होइन, यो आम प्रवासी नेपालीको साझा संगठन हो । यो गैरराजनीतिक, गैरसाम्प्रदायिक र गैरजातीय कल्याणकारी साझा संस्था हो । आम प्रवासी नेपालीसँग सरोकार राख्ने मुद्दा बोक्न र ग्लोबभरि छरिएका नेपालीलाई एकसूत्रमा बाँध्न पनि यो संस्था जरूरी छ । तपाईंको आफ्नो संस्था हो यो । यसलाई दुरुपयोग हुन नदिन उद्देश्य सहित सगर्व सदस्य बन्नुहोस र यसलाई पदबहादुरहरूबाट बचाउनुहोस् ।

(नारायण गाउँलेको फेसबुकबाट साभार )