१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विराटनगरमा कांग्रेसले बिरासत जोगाउला ?

नेपालब्रिटेन डट कम्
११ असार २०७४, आईतवार ०९:१४

मोरङ । नेपाली कांग्रेसका भीम पराजुली, नेकपा एमालेका विनोद ढकाल र संघीय समाजवादी फोरमका उमेश यादव विराटनगरको मेयरमा बाजी मार्ने तरखरमा छन् ।
अमृत अर्याललाई जिल्याउँदै उम्मेदवारी हत्याएका पराजुली यूवा पुस्ताबीच लोकप्रिय मात्रै छैनन, एक दर्जनभनदा बढी संघसंस्थामा आबद्ध रहेकाले स्थानीयमा बलियो पक्कड पनि राख्छन् ।
१९ वडा रहेको विराटनगर महानगरमा कांग्रेसले १ देखि ६ नम्बर वडालाई आफ्नो पकेट क्षेत्र मान्छ । जहाँबाट ८० प्रतिशत मत खस्ने उसको दावी छ । आफ्नै पार्टीबाट अन्तर्घात हुन्छ कि भन्ने भयबाट भने कांग्रेसका नेता/कार्यकर्ता मुक्त हुन सकेका छैनन् ।
तीन दशकदेखि राजनीतिकमा सक्रिय एमालेको मोरङ पूर्वअध्यक्ष ढकाल पनि विराटनगरका लोकप्रिय नेता हुन् । वडा नम्बर ३, ४, ५, ७, ८, ९, १०, ११, १२ र १९ लाई एमालेले आफ्नो ‘पकेट’ क्षेत्र भन्दै आएको छ । एमालेको चुनावी सहयात्री लोकतान्त्रिक फोरमले सूची चौधरीलाई उममेयरको प्रत्यासी बनाएको छ ।
एक्लै प्रतिस्पर्धा गर्दा पनि कांग्रेस हाराहारी आउने दावी गर्ने एमाले फोरमसँगको सहकार्यलाई जीतमा परिणत गर्ने योजनामा छ । फोरमसँगको साथले मधेस विरोधी भनेर लागेको ‘ट्याग’ हट्ने मात्र होइन मेयरमा सो समुदायको पनि भोट थपिदा फराकिलो मतान्तरले कांग्रेसलाई पछि पार्ने एमालेको दावी छ ।
विराटनगरको १२ देखि १९ वटा वडामा जातीय भोट छ । यी वडामा भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका उमेश यादव बलियो मानिन्छन् । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेर संघीय समाजवादीले माओवादी केन्द्रकी नमिता न्यौपानेलाई उपमेयरको प्रत्यासी बनाएको छ । यादव समूदायको भोटमा न्यौपानेले तान्ने खस/आर्य र उपेन्द्र यादवको घर रहेको दक्षिणी क्षेत्रको पनि जोडिदा कांग्रेस/एमालेसँग प्रतिस्पर्धामा पुगिने संघीय समाजवादीको आंकलन छ ।
दोस्रो संविधानसभाको परिणामले चौथो शक्तिमा झरेको एमालेले कांग्रेसपछि बलियो भनिने लोकतान्त्रिक फोरमलाई सहयात्री बनाएकाले दुबै इमान्दार भए यो गठबन्धन विजय उन्मुख हुन सक्ने आंकलन छ ।
तर, पुरानो बिरासत जोगाउन कांग्रेसले गरेको कसरत खेर जाला भन्ने अवस्था पनि छैन । प्रतिस्पर्धी सबैले आफ्नो जित सुनिश्चित भनेपनि विराटनगरमा कांग्रेस–एमाले नै आमने–सामने छन् । तर, दुबै दलले समान वडालाई भोट बैंक भनेकाले विराटनगरका १ लाख १२ हजार ८ सय ३२ मतदाताले कसलाई जिताउँछन अनुमान लगाउन सजिलो छैन ।