१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वडाध्यक्षमा दाजुभाइ प्रतिस्पर्धी, दिदीलाई चिन्ता

नेपालब्रिटेन डट कम्
११ असार २०७४, आईतवार १४:४४

भैरहवा । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं ९ बाट एकै परिवारका दाजुभाइ नै फरक फरक पार्टीबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएको छ । नेकपा (माओवादी केन्द्र)बाट पूर्णप्रसाद भण्डारी र नेकपा (एमाले)बाट शेषकान्त भण्डारी अध्यक्षको उम्मेदवार बन्नुभएको हो । शेषकान्त ठूलो र पूर्णप्रसाद कान्छा छोरा हुनुहुन्छ ।
दाजुभाइ नै फरकफरक पार्टीबाट एउटै पदमा प्रतिस्पर्धी भएपछि आफन्तलाई भने समस्या भएको छ । आफ्ना दुवै भाई वडाध्यक्षका लागि फरकफरक पार्टीबाट उम्मेदवार बनेकाले दिदी दुर्गादेवी पाण्डेलाई सबैभन्दा धेरै पीडा भएको छ ।
“उठे पनि एउटै पदमा नउठ भन्दाभन्दै मानेनन्” दुर्गादेवीले भन्नुभयो, “भोट कसलाई हाल्ने आफन्तले त बरु छान्लान् मलाई भने सकस परेको छ ।” दुर्गादेवीले भन्नुभयो, “आफूलाई भाई उम्मेदवार भएकामा कसले हार्ने हो, कसले जित्ने हो भन्नेमा नै पीर परेको छ । मेरा दुई भाईले नै म जितेको हेर्न चाहन्छु तर यहाँ त एकले जित्ने र अर्कोले हार्ने हुँदा खुसी हुन सकेकी छैन ।”
आफन्तलाई उहाँले बाँडेर भोट हाल्न भन्नुभएको छ । तिमीहरुको भोट दुई मामालाई बराबर हाल भनेर छोराबुहारीलाई भनेको बताउने दुर्गादेवीले राजनीतिक दलका कारण घरपरिवारमा पनि समस्या निम्तिने बताउनुभयो ।
फरकफरक पार्टीबाट एउटै पदमा उम्मेदवारी दर्ता गराएका दुई दाजुभाइले भने एकै घरका दाजुभाइ भएपनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन् । उनीहरुको आपसी सम्बन्ध भने सामान्य रहेको छ । उनीहरुको घर पनि जोडिएको छ । परिवारका दाजुभाइमा उनीहरु दुईजना मात्र हुन् ।
– कमल रायमाझी