१२ बैशाख २०८१, बुधबार
Follow Us

बेगखोलामा अस्थायी मोटरेबल पुल निर्माण

नेपालब्रिटेन डट कम्
१२ असार २०७४, सोमबार ०५:०५

बाबियाचौर । बेनी–जोमसोम सडकअन्तर्गत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ स्थित बेगखोलामा अस्थायी मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले छ मिटर लामो अस्थायी पुल निर्माण गरेको हो । गत भदौमा आएको बाढीले बेगखोलामा रहेको बेलीब्रिज र झोलुङ्गे पुल बगाएको थियो । अस्थायी पुल निर्माण भएपछि बेनी जोमसोम सडकमा बर्खायाममा पनि सिधा सवारी सञ्चालन गर्न सकिने आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

पुलमा एकतर्फ रुपमा सवारी आवतजावत गर्न सक्नेछन् । बर्खायाममा सहजरुपमा सवारीसाधन आवतजावत गर्ने व्यवस्थाका लागि अस्थायी पुल निर्माण गरिएको आयोजनाले जनाएको छ । सडक मर्मतका लागि एउटा डोजर तयारी अवस्थामा राखिएको छ ।

बेलीब्रिज बगाएपछि बेगखोलामा बाढी आउँदा सवारीसाधन र मानिसलाई आवतजावत गर्न समस्या हुने गरेको थियो । आयोजनाले ७६ किलोमिटर दूरीको बेनी जोमसोम सडकको पाँच खण्डमा ठेक्का सम्झौता गरी कालोपत्र गर्नका लागि स्थलगत सर्वेक्षणको काम भइरहेको जनाएको छ ।