८ बैशाख २०८१, शनिबार
Follow Us

‘लण्डन बक्स अफिस अवार्डमा कुन कुन फिल्म परे मनोनयनमा’

नेपालब्रिटेन डट कम्
१२ असार २०७४, सोमबार ११:४४

काठमाडौं- बेलायतको लण्डनमा आगामी असार १७ गते हुन लागेको १० औं संस्करणको ‘बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ। राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको २८ विधाको मनोनयनमा ‘उत्कृष्ट फिल्म’ विधामा ‘छक्का पञ्जा’, ‘गाजलु’, ‘वीर विक्रम’, ‘लभ सासा’ र ‘लुट २’ बीच प्रतिस्पर्धा हुने भएको छ।

मनोनयनको ‘उत्कृष्ट नायिका’मा फिल्म ‘किस्मत २’बाट शिल्पा पोखरेल, ‘होमवर्क’बाट नम्रता श्रेष्ठ, ‘छक्का पञ्जा’बाट प्रियंका कार्की, ‘लभ सासा’बाट केकी अधिकारी र ‘लप्पन छप्पन’बाट वर्षा शिवाकोटी छन्।

त्यस्तै ‘उत्कृष्ट नायक’मा ‘लुट २’बाट सौगात मल्ल, ‘वीर विक्रम’बाट दयाहाङ राई, ‘गाजलु’बाट अनमोल केसी, ‘होमवर्क’बाट आर्यन सिग्देल र ‘लभ सासा’बाट कर्मा छन्। ‘उत्कृष्ट निर्देशक’मा ‘गाजलु’बाट हेमराज बिसी, ‘लभ साशा’बाट प्रचण्डमान श्रेष्ठ, ‘वीर विक्रम’बाट मिलन चाम्स, ‘पुरानो डुंगा’बाट रामबाबु गुरुङ र ‘लुट २’बाट निश्चल बस्नेत छन्।

बक्स अफिस इन्टरनेशनल ग्रुपले लण्डनको थर्ड आइसँग सहकार्य गर्दै अवार्ड आयोजना गर्न लागेको हो। अवार्डका कार्यक्रम संयोजक तथा थर्ड आइका तर्फबाट हरि सिलवालले अवार्ड कार्यक्रमबाट संकलित रकम नेपालको ग्रामीण क्षेत्रका अभिभावकविहिन बालबालिकाको सहयोगार्थ खर्च गरिने बताए। ‘लण्डनको कार्यक्रम सकिएपछि हामी नेपाल फर्किएर दुर्गम ग्रामीण क्षेत्रमा बस्दै आएका अभिभावकविहिन बालबालिकालाई सहयोग गर्नेछौं,’सिलवालले भने,’सम्बन्धित क्षेत्रको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर ती बालबालिकाको स्वास्थ्य, शिक्षामा खर्च गर्नका लागि रकम दिनेछौं। हामीले जिल्ला प्रशासन कार्यालयसँग पनि पहल शुरु गरिसकेका छौं।’

सिलवालले अवार्डमा ५० कलाकार र प्राविधिकसहित करिब सय जनाको टोली लण्डन जाने बताए। उनका अनुसार अवार्डका लागि नेपालबाट कलाकार र प्राविधिकसहितको टोली जून २९ मा लण्डन जानेछ र जुलाई ३ मा नेपाल फर्किनेछन्।

कार्यक्रममा २८ विधाबाहेक थप अन्य १५ विधामा पनि अवार्ड प्रदान गरिने जुरी सदस्यमध्येका एक शक्तिबल्दव घोरासैनीले बताए। उनले संगीत तर्फका चार विधामा भने लन्डनमै रहेको निर्णायक समूहले विजेताको नाम छान्ने जानकारी गराए। बाँकी विधामा भने नेपालमै रहेको जुरीले विजेता छान्नेछ।

बक्स अफिसका अध्यक्ष आरके सुवेदीले अवार्ड पाउने भन्दा पनि दिने अब्बल हुनुपर्ने बताए। ‘हाम्रोमा अवार्ड दिने भन्दा पनि पाउने व्यक्ति अब्बल हुनुपर्ने चलन छ। त्यो गलत हो। अवार्ड दिने व्यक्ति अब्बल भएमा मात्र अवार्ड पारदर्शी हुन्छ,’सुवेदीले भने।

लण्डनमा अवार्ड थर्ड आई टिमकोे पहलमा हुन लागेको हो। थर्ड आईका तर्फबाट संयोजक विकास देवकोटाले अवार्डलाई भव्य बनाउन सम्पूर्ण तयारी पूरा भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा कुरा गर्दै नेपालबाट आउने फिल्मकर्मीको स्वागतका लागि लन्डनमा रहेको नेपाली समुदाय आतुर रहेको बताएका छन्।

कार्यक्रममा अभिनेता भुवन केसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, नेपाल चलचित्र निर्देशक समाजका गोपालचन्द्र लामिछाने, कलाकार जितु नेपाललगायतले अवार्डका लागि शुभकामना दिएका थिए। चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राईले अवार्डलाई पारदर्शी र निष्पक्ष बनाउनुपर्नेमा जोड दिए।