लन्डन । एसियन महिला असोसिएसन (आमा) ले यस वर्षको तीज आगामी २० अगष्टमा मनाउने भएको छ । 
संस्थाकी अध्यक्ष अमिता बेल्वासेको अध्यक्षतामा बसेको 
बैठकले फार्नबोरोमा १२ औं तीज कार्यक्रम गर्ने भएको हो । हालैमात्र गठित नयां कार्यसमितिले विगत जस्तै कार्यक्रममा सहभागिताका लागि सबैमा अपिल गरेको छ ।
संस्थाकी मिडिया कोअर्डिनेटर रोजिना प्रधान राईका अनुसार आमाले ३० जुलाइमा हुन लागेको क्यान्सर रिसर्च यूकेको ‘रेस फर लाइफ’ कार्यक्रममा सहभागी हुने निर्णय समेत गरेको छ ।
आमाले वर्षेनी तीज कार्यक्रम गरि त्यसबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छ । अम्बिका खड्का अध्यक्ष रहेको कार्यकालमा संस्थाले गत मार्चमा १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा दृष्टिविहीन नेपालीका हितमा कार्यरत संस्था ब्लाइन्ड रक्सलाई एक लाख एक रुपैयां सहयोग गरेको थियो । संस्थाले गत वर्षको तीज कार्यक्रममा राफल चिठ्ठाबाट संकलित रकम ब्लाइन्ड रक्सकी संस्थापक दृष्टिविहीन सृष्टि केसीलाई हस्तान्तरण गरेको हो ।