१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कैलाली, कन्चनपुर र डडेल्धुरामा मतगणना सुरु

नेपालब्रिटेन डट कम्
१५ असार २०७४, बिहीबार ०७:४८

धनगढी – कैलाली जिल्लाका दुई स्थानीय तहबाहेक सबै स्थानीय तहको निर्वाचनको मतगणना सुरु गरिएको छ ।

जिल्लाको पहाडी क्षेत्रको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका बाहेक छ तहमा गए रातिदेखि र पाँच तहमा आज बिहानदेखि मतगणना सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताए।

भौगोलिक विकटताका कारण मतपेटिका मतगणनास्थलसम्म पुर्याउन समय लाग्ने भएकोले चुरे गापा र मोहन्याल गापाको मतगणना आज रातिदेखि मात्रै सुरु हुनसक्ने अर्यालले बताए ।

जिल्लामा १३ स्थानीय तह रहेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार टीकापुर नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरम का लौटन चौधरीले १८०, नेकाका जङ्गबहादुर साउदले १०८ र नेकपा एमालेका तपेन्द्र रावलले १०१, नेकपा माओवादी केन्द्रका ललित थापाले ६६ मत पाउनुभएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले बताए।

यसैगरी, उपप्रमुखमा लोकतान्त्रिक फोरमकी सुदेश्नी चौधरी १७४, नेकाका केशरी रावलले १०६, एमालेकी कमला केसी ८९ र माओवादी केन्द्रकी आशा चौधरीले ७१ मत प्राप्त गरेकी निर्वाचन अधिकृत रेग्मीले जानकारी गराए । वडा नं ३, ५ र ६ को मतगणना भइरहेकोमा अहिलेसम्म ५०० मत गणना भएको छ ।

टीकापुरमा कुल ३९ हजार १९२ मतदातामा २७ हजार २३८ मत खसेको निर्वाचन अधिकृत रेग्मीले जानकारी गराए ।