७ बैशाख २०८१, शुक्रबार
Follow Us

त्रिभुवन विमानस्थलमा एनआरएनको सफाइ अभियान

नेपालब्रिटेन डट कम्
१५ असार २०७४, बिहीबार १३:५७

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले देशको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा एक महिने सफाइ अभियान सुरु गरेको छ । दुर्गन्धित विमानस्थलबाट विदेशीहरुमा पर्न गएको नकारात्मक असरलाई मनन गर्दै सरसफाइ अभियान शुरु गरिएको हो । अभियानको नेतृत्व आगामी निर्वाचनमा अध्यक्षका दावेदार एनआरएनए उपाध्यक्ष भवन भट्टले लिएका छन् ।
हवाइ मार्ग हुंदै नेपाल आउने पर्यटकले विमानस्थलको दुरावस्थाबाट नेपालप्रति नकारात्मक धारणा बनाइरहंदा सफाइ अभियान थालिएको छ । अभियान शुभारम्भका अवसरमा एनआरएनए उपाध्यक्ष भवन भट्टले बिहीबार एक समारोहबीच नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक संजीव गौतम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायलाई सफाइ सामाग्री हस्तान्तरण गरेका थिए ।
अब एनआरएनएले एक महिनासम्म विमानस्थलका सफाइ कर्मचारीसंग मिलेर काम गर्ने बताइएको छ । एनआरएनएले विमानस्थलको सफाइका लागि कर्मचारीलाई तालिम दिन अष्ट्रेलियास्थित खेम्स क्लिनिङका दक्ष प्रशिक्षक र प्राविधिक सहितको टोली झिकाएको छ ।टोलीले एक महिनासम्म विमानस्थलमा कार्यरत सरसफाइ मजदुरमध्ये ३५ वर्षमुनिका १५ जनालाई सफाइ सामाग्रीको प्रयोग सम्बन्धी तालिम दिने छ ।

उपाध्यक्ष भट्टले नेपालको पर्यटन प्रवर्धनका लागि एनआरएनएले ‘अतिथि देवो भव’ अभियान पनि सञ्चालन गरिरहेको जनाउंदै प्रवेशद्धारको रुपमा रहेको विमानस्थल आउनासाथ पर्यटकहरुमा नेपालप्रति सकारात्मक भावना जगाउन सफाइ अभियान सुरु गरिएको प्रष्ट्याए ।
एनआरएनएले सफाइ अभियान सञ्चालनका लागि यसअघि विमानस्थलको व्यवस्थापनसंग सम्झौता गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले यात्रुको अत्यधिक चापका कारण कार्यालयले विमानस्थल सफा राख्न नसकेको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पिक समयमा प्रतिघण्टा २ हजार ६ सय यात्रुलाई सेवा दिंदै आएको छ ।2
19510543_1041822665948026_3377435579453712661_n