७ बैशाख २०८१, शुक्रबार
Follow Us

रोल्पामा स्थानीय तहको परिणाम यस्तो आयो

नेपालब्रिटेन डट कम्
१८ असार २०७४, आईतवार ०४:५१

रोल्पा । माओवादीगढ मानिने रोल्पामा अन्य दलले पनि स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेका छन् । दश स्थानीय तह रहेको रोल्पामा हालसम्म परिणाम घोषणा भएका नौ स्थानमध्ये ६ स्थानमा नेकपा (माओवादी केन्द्र), दुई स्थानमा नेकपा (एमाले) र एक स्थानमा नेपाली काँग्रेस विजयी भएका छन् । ७२ वटा वडा रहेको जिल्लामा हालसम्म मतपरिणाम सार्वजनिक भइसकेका ७० वडामध्ये नेकाले १५, नेकपा एमालेले ११, नेकपा माओवादी केन्द्रले ४४ र स्वतन्त्रले दुई वडामा विजयी हासिल गरेका छन् ।

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका पूर्ण केसीले पाँच हजार ६३४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका लेखनाथ आचार्यले तीन हजार ८२७ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी, सोही नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै मनकुमारी घर्तीले पाँच हजार ६६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी मिश्री हमालले तीन हजार ७२१ मत प्राप्त गर्नुभएको थियो । लुङ्ग्री गाउँपालिकामा नेकाका दुर्गा खड्काले तीन हजार ११५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तुलाराम खड्काले दुई हजार ९१० मत प्राप्त गर्नुभएको थियो । यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकाकै भीमकला बुढाथोकीले तीन हजार २७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मनखना घर्तीले दुई हजार ९३९ मत प्राप्त गर्नुभएको थियो ।

रुन्टीगढी गाउँपालिकामा नेकपा एमालेका बालाराम बुढाले तीन हजार ४०२ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका टेकबहादुर बस्नेतले तीन हजार २७९ मत प्राप्त गर्नुभएको थियो । सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै छमाया पुनले तीन हजार ४५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी सरिता केसीले तीन हजार ३७९ मत प्राप्त गर्नुभएको थियो ।

त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका शान्तकुमार ओलीले दुई हजार ५६० मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गङ्गाप्रसाद घर्तीले दुई हजार ३३६ मत प्राप्त गर्नुभएको छ । यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै साबित्रा बुढाले दुई हजार ५४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लालसरी घर्तीले दुई हजार ३३३ मत प्राप्त गर्नुभएको छ ।

दुईखोली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमकान्त डाँगीले चार हजार ६०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका झक्कु घर्तीले एक हजार ९८९ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी हुनुभएको छ । बुढाले चार हजार ६०८ प्राप्त गर्नुभएको थियो भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकाकी लक्ष्मी डाँगीले एक हजार ८९९ मत प्राप्त गर्नुभएको छ ।

थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका वीरबहादुर घर्ती एक हजार ९९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले एक हजार ५० मत प्राप्त गर्नुभएको छ । यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रामकिरणी रोकाले एक हजार ९६९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी श्रीकुमारी रोकाले ९९५ मत प्राप्त गर्नुभएको थियो ।

सुनछहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका आशबहादुर बुढाले ८२८ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । पुनका निकटतम प्रतिद्वन्द्वी नेकाका दुर्गाबहादुर घर्तीले ६३६ मत प्राप्त गर्नुभएको थियो । सो गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका पवित्रा घर्तीमगरले ८७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षमा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका भिमली बुढाथोकीले ६३५ मत प्राप्त गर्नुभएको थियो ।

सुकीदह गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरबहादुर केसीले दुई हजार ४१४ मत ल्याई अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशनकुमार ओलीको दुई हजार २८० मत रहेको थियो । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै रीताकुमारी घर्तीले दुई हजार ३९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निर्मला ओलीले दुई हजार २१५ मत प्राप्त गर्नुभएको थियो ।

माडी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नन्दबहादुर पुनले तीन हजार १८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका गोपाल घर्तीले दुई हजार ६२१ मत प्राप्त गर्नुभएको थियो । सोही गाउँपालिकाको उपाध्यक्ष नेकपा माओवादी केन्द्रका धनिकला घर्तीले तीन हजार २५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षमा नेकपा एमालेका प्रेम घर्तीले दुई हजार ६८९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी रहनुभएको थियो ।