११ बैशाख २०८१, मंगलवार
Follow Us

शान्ति ठटालका सृजनाले पलेँटी-दर्शक मन्त्रमुग्ध

नेपालब्रिटेन डट कम्
१८ असार २०७४, आईतवार ११:२७

दार्जिलिङबाट आफ्ना सृजना प्रस्तुत गर्न काठमाण्डौं आएकी शान्ति ठटालले पलेँटीका दर्शक श्रोताहरूलाई आफ्ना सांगीतिक धुनहरू सुनाएर मन्त्रमुग्ध बनाएकी छन् । नेपालयको ‘आर’शालामा शुक्रबार साँझ सम्पन पलेँटी कार्यक्रममा उनले आफ्ना झण्डै डेढ दर्जन सृजनाहरू प्रस्तुत गरेकी थिइन् ।
पाँचौं पटक पलेँटीमा प्रस्तुत शान्ति ठटाल यसपाली संगीतकारका रुपमा प्रस्तुत भएकी थिइन् । पलेँटीमा उनका सांगीतिक सृजनाहरूलाई नेपालमा अहिले चर्चित बनेकी लोकप्रिय पलेँटी गायिका मीना निरौला र दार्जिलिङकी लोकप्रिय गायिका सोनू राईले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको आरम्भ ‘आमा’ शीर्षकको गीतबाट भएको थियो । दार्जिलिङकी अग्रज चलचित्र तथा नाट्य कलाकार मेनुका प्रधानले लेखेको गीतको प्रस्तुतिसितै शान्ति ठटालको संगीत गाइरहेकी सोनू राईले दर्शकबाट प्रसंशा पाएकी थिइन् । ठटालकै रोजाइमा दार्जिलिङबाट उनका साथ आएकी सोनू राईले पुराना चर्चित गीतहरू ‘उडी जाऊँ भने म पन्छी होइन’, ‘मेरो कथा खाली खाली’, ‘नयाँ नयाँ घामको किरण’, लगायत थप चारवटा नयाँ गीतहरू प्रस्तुत गरेकी थिइन् । उनले गाएको बसन्त थाम्सुहाङ रचित लोक भाकामा आधारित नयाँ गीत ‘देउरालीमा पाती राखी’लाई पनि दर्शकले निकै रुचाएका थिए ।

‘शब्दमा धुनहरू भर्दा दार्जिलिङतिर आधुनिक शैली मात्र होइन मादले, मारुनी, विरनी जस्ता ठेट भाकाहरूलाई पनि निकै महत्व दिइन्छ ।’ प्रस्तुतिका क्रममा संगीतकार ठटाल दार्जिलिङको सांगीतिक शैलीबारे प्रष्ट्याउँदै थिइन् ।

कार्यक्रमको दोस्रो गीत पलेँटी गायिका मीनाले प्रस्तुत गरेकी थिइन् । संगीतकार ठटालले विरनी (विरहिणी) ताल र भाकाको प्रसंगसितै प्रारम्भ भएको यस गीतको भाका मीनाको स्वरमा निक्कै सुहाएको थियो । मञ्चमा शान्ति ठटालको दायाँतर्फ पलेँटी कसेकी मीनाले ठटालका सदाबहार गीत ‘सम्हालेर राख’, ‘मेरो दुखी मन’, ‘आकाश झुक्यो’, सहित पाँचवटा गीत सुनाएकी थिइन् । कतै रेकर्ड नभएको ‘कहिले काँही’ गीत पनि मीनाको स्वरमा निकै खुलेको थियो ।

यसपाली संगीतकारको रुपमा प्रस्तुत भए पनि ठटालले दल सिंह अकेलाको शब्द रहेको ‘लिएको थिएँ तिम्रोबाट’ बोलको गीत सुनाउँदा ठटालको गायिकीका प्रशंसकहरू आनन्दित भएका थिए । शान्तिले कोलकातामा सन् १९५६ रेकर्ड भएको आफ्नो पहिलो गीत ‘चाँदनी चाँदनी’को पनि सम्झना गरेकी थिइन् । उनले आफ्नो पहिलो गीतका गीतकार संगीतकार शिवप्रसाद सिंह (९० वर्ष खर्साङ) भएको पनि जानकरी गराइन् ।

कार्यक्रममा मीना र सोनूको युगल स्वरमा प्रस्तुत भएका रिदमिक गीतहरू ‘रोक्दा रोक्दै’ र ‘मायालुले सम्झे कि कसो’ले कार्यक्रमलाई रोमन्चकताको उचाईमा पुर्‍याएको थियो ।

कार्यक्रमका क्रममा संगीतकार ठटालले आफ्नो समयका मूर्धन्य कलाकारहरू अम्बर गुरुङ, अरूणा लामा, नारायण गोपालसित सम्बन्धित स्मरणहरू सुनएकी थिइन् । यसै क्रममा उनले आफ्नो लोकप्रिय गीत ‘सम्हालेर राख’को रचना गर्भको पनि जानकारी गराएकी थिइन् ।

‘सम्हालेर राखको गीतको पहिलो धुन अर्कै थियो । मूर्धन्य संगीतकार अम्बर गुरुङले यो गीतको पहिलो धुन गाउन सिकाउँदा म अलि अनकनाएछु; उहाँले त्यसलाई फेरि धुन भर्नुभयो र मलाई सिकाउनु भयो । यो त्यही दोस्रो संगीत हो ।’ यति भनेर ठटालले ‘सम्हालेर राख’ गीतको पहिलो धुनको पनि सम्झना गरिन् । ठटालको संस्मरण सुनाउने हँसिलो पाराले ‘आर’शालाको सांगीतिक वातावरणमा थप रोचकता थपेको थियो ।

शान्ति ठटालको सांगीतिक यात्राको परिचय गराउँदै कार्यक्रम संचालक संगीतकार आभासले ठटालले महाकविका कृतिहरू- ‘मुना मदन’, ‘कुञ्जिनी’, ‘म्हेन्दो’,मा पनि संगीत भरेको प्रसंग कोट्याए । संगीतकार ठटालले आफूले ती कृतिहरूको भाका नै भुलेको तर पलेँटीको अनुरोधमा सम्झने प्रयत्न गरेको बताइन् । यही क्रममा उनले आफ्नो बायाँतर्फ बसेकी गायिका सोनू राईलाई ‘मुना मदन’का केही हरफ गाउन लगाइन् । कार्यक्रम संचालकले शान्ति ठटाललाई फेरि पनि पलेँटीमा निम्त्याउने बताउँदै ‘मुना मदन’ तयार गरेर आउन अनुरोध गरेका थिए । संचालकको अनुरोधमा शान्ति ठटालको सहमती सुनेपछि दर्शकबीच खुशीको लहर छाएको थियो ।

कार्यक्रम समापन भएको घोषणापछि पनि दर्शकहरूको चर्को अनुरोधमा शान्ति ठटाले ‘सम्हालेर राख’लाई आफ्नै कण्ठबाट सुनाएकी थिइन् ।

शान्ति ठटालको पलेँटीमा प्रशंसकहरूको चाप बढेपछि शुक्रबार मात्र हुँदै आएको कार्यक्रमलाई शनिबार पनि गर्ने जानकारी दिइएको थियो ।

अँग्रेजी महिनाको अन्तिम शुक्रबार हुने कार्यक्रमको अगष्ट महिनामा चर्चित जोडी उदय मनिला सोताङलाई प्रतुत गर्ने जानकारी पनि गराइएको थियो ।