१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार महासंघ यूके शाखाको बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
१९ असार २०७४, सोमबार ०७:४८

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको वैठक सम्पन्न भएको छ । लण्डनस्थित उषामन्टिजमा बसेको शाखाको बैठकले मे २१ का दिन गरिएको च्यारिटी डिनरको बारेमा बैठकमा गम्भीर समीक्षा गरेको छ ।
बैठकले समग्रमा च्यारीटी कार्यक्रम भव्यरुपमा सफल भएको ठहर गर्दै कार्यक्रममा देखिएका कमीकमजोरीहरुलाई आगामी दिनमा सच्याउने प्रतिवद्धता गर्दै कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सबै संघसंस्था व्यक्ति व्यक्तित्व, प्रायोजकहरु सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
बैठकमा च्यारिटीबाट ३२,७४९.९९ पाउण्ड आम्दानी र ९,००५.३३ पाउण्ड खर्च र उठ्न बाँकी ४,३८० पाउण्ड रहेको जानकारी दिइयो । बैठकले च्यारीटीको लागि बोलेका सहयोगदाताहरुलाई उठ्न बाँकी रहेको राशीलाई जुलाई महिनाभित्रमा शाखाको खातामा जम्मा गर्न आग्रह गरेको छ ।

संकलित रकमलाई च्यारिटी कमिसनमा संस्था दर्ता गराई बेग्लै बैँक खातामा मौज्दात राख्ने निर्णय बैठकले गरेको छे । च्यारिटी दर्ता प्रयोजनका लागि अध्यक्ष नरेश खपाङ्गीमगरलाई जिम्मा दिइयो भने लेखापरीक्षकमा जीएनएस एसोसिएटसका एलएन घिमिरेलाई नियुक्त गर्ने निर्णय भएको छ ।
यस्तै बैठकले च्यारिटी कोष संचालनका लागि सूर्य गुरुङको संयोजकत्व र शाखाका अध्यक्ष सदस्यसचिव रहनेगरी एक संचालक समिति गठन गर्ने र सो समितिमा डा. राघवप्रसाद धिताल र सल्लाहकार भगिरथ योगीलाई नियुक्त गरेको छ । यस्तै, च्यारिटी फण्ड संचालन विधी निमार्ण गर्ने भन्ने बारेमा नियमावली मस्यौदा बनाउन सल्लाहकार भगिरथ योगीलाई जिम्मा दिने निर्णय गरिएको छ ।
शाखाका सदस्यहरुको क्रियाशीलताको अभिलेख राख्न कार्यसम्पादनको आन्तरिक लेखापरीक्षण गर्ने निर्णय गरिएको छ । सोको लागि वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलको संयोजकत्वमा उपाध्यक्ष ध्रुव अर्याल, महासचिव लीलामान शेरपुञ्जा, सचिव शिव भण्डारी र कोषाध्यक्ष पूर्ण गुरुङ रहेको एक समिति गठन गरिएको छ ।
शाखाले एनआरएन युकेसित मिलेर स्थापना गरेको एनआरएन पत्रकारिता कोषको संचालनमा अपनत्व खड्किएको निस्कर्ष निकाल्दै सोको प्रभावकारी व्यवस्थापन र कार्यान्वयनका लागि एनआरएन युकेसित छलफल गर्ने निर्णय भएको छ ।
बैठकले अग्रज पत्रकारहरुको सम्मान कार्यक्रमका लागि संयोजक ध्रुव अर्याललाई तोकेको छ । युरोपस्तरिय नेपाली पत्रकार भेलाका लागि अध्यक्ष नरेश खपाङ्गीमगरलाई संयोजक तोकिएको छ भने बेलायती संसद भ्रमणका लागि सल्लाहकार नविन पोखरेललाई संयोजक तोकिएको छ ।
बैठकले शाखाका सदस्य सुजन पराजुलीका पिता शालिग्राम पराजुलीको असामयिक निधन भएकोमा स्वर्गीय पराजुलीप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै एक शोक प्रस्ताव पारित गरेको छ ।