६ चैत्र २०८०, मंगलवार
Follow Us

एनआरएनलाई दूतावासबाटै मतदानको सुविधा दिइन्छ: एमाले नेता, योगेश भट्टराई

नेपालब्रिटेन डट कम्
२० असार २०७४, मंगलवार ०८:००

लण्डन । गोर्खा सैनिकले बेलायतलाई ठूलो गुण लगाएका छन् । एउटा देशको नागरिक अर्को देशको सेनामा बसेर तेस्रो देशसँग लड्न जान्छ भने त्योभन्दा ठूलो योगदान अर्को हुनै सक्दैन । त्यसकारण बेलायत सरकारले गोर्खा सैनिकको सम्मान गर्नुपरेको छ ।

२१ औं शताब्दीमा पनि हामी कसैका निम्ति लडिरहेका छौं भने यो भन्दा ठूलो योगदान केही हुँदैन । आजको दिनमा बेलायत सरकारले गोर्खा सैनिकको उचित सम्मान गर्नुपर्छ । नेकपा एमालेले जहिले पनि नेपालस्थित बेलायती दूतावासमा यो कुरा उठाउँदै आएको छ । बेलायत सरकारका प्रतिनिधिहरुको नेपाल भ्रमणका बेला हामीले यो कुरा उठाउँदै आएका छौं ।

गेसोका साथीहरुसँगको छलफलमा पनि हामीले यो कुरा उठाउँदै आएका छौं । प्रवासी मञ्चको चौथो अधिवेशनको सिलसिलामा पनि यो आन्दोलनप्रति एक्यबद्धता जनाउन चाहन्छु । यो सम्वेदनशीलता बुझ्दै गेसोलगायतका संघसंगठनहरुको मागहरु प्रति सम्वेदनशील हुन र नेपाल र नेपाली जनताको स्वाभिमानप्रति गम्भीर बन्न ध्यानाकर्षण गराउँछु ।

विभिन्न सिलसिलामा हामी प्रवासमा छौं । बेलायतमा नेपालीहरु प्राज्ञिक र शैक्षिक क्षेत्रको निक्कै माथिल्लो तहमा नेपालीहरु पुगिरहेको समाचार हामीले सुनिरहेका छौं । विश्वविद्यालयको विभिन्न पदाधिकारी लेबलमा साथीहरु हुनुहुन्छ । व्यवसायिक क्षेत्रमा माथिल्लो उचाइ प्राप्त गर्नुभएका साथीहरु हुनुहुन्छ । संघर्ष गर्दै माथिल्लो पदमा पुगेका धेरै साथीभाइको जमघट छ बेलायतमा । अर्थात् ठूलो नेपाली समुदाय बेलायतमा छ ।
धेरै क्षमता र योग्यता आर्जन गरेका व्यक्तित्व महामहिम दुर्गाबहादुर सुवेदी बेलायतका राजदूत हुनुहुन्छ । उहाँका कामहरुको हामीले जहिले पनि प्रशंसा गरेका छौं ।

कुनै पनि अन्तर्राष्ट्रिय नियोगमा उहाँको उपस्थितिले नेपालको गरिमा माथि उठाउन सहयोग पुगेको हामीले सुनेका छौं । सौभाग्यवस पुरानो मित्र बेलायतमा उहाँ नेपालको प्रतिनिधिका रुपमा हुनुहुन्छ । उहाँको कार्यकालमा प्रवासी नेपाली मञ्च, अरु विभिन्न संघ संगठन र एनआरएनलगायत सबै हाम्रा नेपालको सामूहिक प्रयत्नबाट यो देशबाट प्राप्त अनु्भवले नेपाललाई कसरी फाइदा पुग्न सक्छ भन्ने कुरा तपाईंहरुले सोच्नु हुन्छ भन्ने मलाई विश्वास छ । राजदूत सुवेदीले यहाँका समुदायलाई समन्वय गर्नु हुनेछ ।

हाम्रो देशमा चलन छ, राजदूत हुनु भनेको आराम गर्नु छुट्टी मनाउन जानु भन्ने ठानिन्छ । मैले धेरै देशको राजदूतावासमा यस्तै देखेको छु । आरामले बसेका छन् राजदूतहरु । के हो भूमिका बुझ्दैनन् । के गर्न आएको भन्ने समेत उनीहरुलाई थाहा छैन ।

पछिल्लो कार्यकालमा हामीले राजनीतिक भागवण्डा गरेर राजदूत पठाएका छौं । सायद दोष त्यसमा पनि हुनसक्छ । तर बेलायतका लागि आउनु भएका राजदूत सुवेदी अलग क्षमताका छन् भन्ने मैले बुझेको छु । त्यसकारण उहाँप्रति हामी धेरै आशावादी छौं । यसबाट नेपालले केही उपलब्धी हासिल गर्न सक्छ भन्ने मलाई लाग्छ ।

सामाजिक सञ्जालमा हेर्दा विदेशमा बस्ने नेपाली नकरात्मक धारणा राख्छन कि भन्ने मलाई कहिलेकाहिँ लाग्छ । त्यो उहाँहरुको बाध्यता हो, हामीलाई थाहा छ । तपाईंहरु अहिले बेलायतमा हुनुहुन्छ ? कुन कठिन मोड पार गरेर यो आधुनिक देश बन्यो ? आजको समृद्धि यसले कसरी हासिल ग¥यो ? यी कुरा तपाईंहरुले देख्नु भएको छ, पढ्नु भएको छ । त्यसअर्थमा हामी नेपालमा सिक्दैछौं । साढे दुई सय वर्षअघि डेमोक्रेसीको अभ्यास गरेको यो मुलुक हो । आज पनि यहाँको डेमोक्रेसी, निर्वाचन प्रणाली र प्रतिनिधित्वको बारेमा अनेक प्रश्न होलान् ।

सिक्नेक्रममा हाम्रा कमजोरी हुनसक्छन् । नेपालका दल र त्यसका नेताहरु राजनीतिक आन्दोलनका विद्यार्थी हुन् । तिनीहरु सिक्दैछन्, पढ्दैछन भन्ने कुरा तपाईंहरुले बुझिदिनुभयो भने नेपालका राजनीतिक दल र तिनका नेतालाई तपाईंहरुले हेर्ने दृष्टिकोण सही ठाउँमा आइपुग्छ । बेलायत र अमेरिकासँग दाँजेर हेरियो भने हामीमा फ्रस्टेसन आउँछ ।
एनआरएनका साथीहरु भन्छु, तपाईंहरुसँग कति पैसा छ, नेपालमा लगेर घोप्टाउनुस् । अब नेपाल सुरक्षित छ । सुरक्षा कमजोर छ भनेर नेपालमा लगानी गर्न पछि नहट्नुस् । तपाईंहरुको प्रोजेक्टको सुरक्षाका लागि हामी सेनाको बिर्गेड नै राखिदिन्छौं । गोर्खामा साढे सात सय घर बनाउँदा त्यहाँको समुदायले सहयोग गरिरहेको छ । सानिमाले इलाममा हाइड्रोपावर बनाउँदा स्थानीय मानिसले स्वागत गरेका छन् । विदेशबाट कमाएर ल्याएको पैसाले नेपालमा सञ्चालित प्रोजेक्टमा चन्दा उठान नजानुस् भनेर हामी पार्टीमा सर्कुलर गर्दिन्छौं ।
नागरिकताको सम्वेदनशीलता तपाईंहरुले पनि बुझ्नु भएको छ । नेपालीहरु संसारको जहाँसुकै बसून, म नेपाली हुन्छु अथवा रहिरहन्छु भन्दा हुँदैनस भन्ने राष्ट्रले भन्दैन । सिद्धान्ततः त्यही हो । अमेरिकी वा बेलायती नागरिकता लिएको छ छैन भनेर सोध्दै हिड्नु पर्दैन ।

अर्को देशको कानुनले तपाईंलाई नागरिक भइरहन दिन्छ कि दिँदैन त्यत्ति मात्र कुरा हो । दिन्छ कि दिँदैन त्यो तपाईंहरुले सोच्नुहोस्, नेपालले सोधिखोजी गर्दैन । बेलायत र अमेरिकाले नागरिकता दिँदा के गर्छ, त्यो हाम्रो चासोको विषय होइन । नेपालको तर्फबाट कुनै समस्या छैन ।
हामी निर्वाचनमा गयौं, ४० लाख नेपाली बाहिर छन् । उनीहरुले भोट हाल्न पाएनन्, प्रतिनिधि छान्न पाएनन् । बाहिर बस्न पाउने मानिसको पनि अधिकार हो । बाहिर बस्ने नेपालीहरुले मत दिन पाउँछन् भन्ने अध्ययन गर्न निर्वाचन आयोगको टोलीले केही देशको अध्ययन भ्रमण गरेको थियो । दक्षिण कोरिया गएर झन्डै एक हप्ता बस्नुभयो ।

अहिलेको आधुनिक युगमा विदेशमा बस्ने नेपाली नागरिकको मतदाता परिचयपत्र छ भने उनीहरुलाई हाम्रो देशको भोटिङ सिस्टममा कसरी सहभागी बनाउने भन्ने विषयमा हामी खोजी गरिरहेका छौं । तर हाम्रो देशको निर्वाचन प्रणाली जटिल छ । मतपत्र पनि नाङलोजत्रो, गन्न पनि एक महिना लाग्छ । यस्तै छ, अब विस्तारै वैज्ञानिक बनाउँदै लैजाउला । प्रत्यक्ष र समानुपाति निर्वाचन प्रणाली छ । बेलायतको दुतावासमा हामीले मतपेटिका राखौंला । कुन कुन निर्वाचन क्षेत्रको राख्ने ? दूतावाससँग जनशक्ति पनि छैन ।

प्रत्यक्षमा मतदान गर्न नपाए पनि समानुपातिकमा अनलाइन सिस्टम भयो भने भोट हाल्न पाइला । हो, त्यो उपाय खोज भनेर हामीले निर्वाचन आयोगलाई भनेका छौं । यदि सम्भव भयो भने विदेशबाट पनि मतदान गर्न पाइन्छ । आउँदो डेसेम्बर वा जनवरीमा एमालेको सरकार बन्छ, यो काम एमालेले गर्छ । तपाईंले गाउँको प्रतिनिधि छान्न नपाए पनि पार्टीलाई भोट हाल्न पाउनु हुन्छ ।

(वेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चको आइतवार सम्पन्न चौथो अधिवेसनमा अभिव्यक्त विचारको सम्पादीत अंश)