८ बैशाख २०८१, शनिबार
Follow Us

लगानी, पर्यटन र पुनर्निर्माणबारे गम्भीर कार्यशाला हुँदै

नेपालब्रिटेन डट कम्
१६ श्रावण २०७३, आईतवार १०:१८

कोपेनहेगन ।
एनआरएनए युरोप क्षेत्रीय सम्मेलनको दोस्रो दिन विश्वभरका एनआरएनहरू लगानी, व्यापार, परोपकार र पर्यटनजस्ता विषयमा छुट्टाछुट्टै कार्यशालामा जुटेका छन् ।

व्यापार र लगानी विषयक कार्यशालाको अध्यक्षता संस्थाका प्रमुख संरक्षक जिबा लामिछानेले गरिरहनुभएको छ भने नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारका, युरोप संयोजक कुल आचार्य, उद्योगी चन्द्र ढकाललगायतले सहभागीका सुझाब, जिज्ञाषा र योजनाहरूको अभिलेखन र संयोजन गरिरहेका छन् ।

पर्यटन प्रबर्द्धन सम्बन्धी दोस्रो कार्यशालाको अध्यक्षता संस्थाका उपाध्यक्ष भवन भट्टले गरिरहेका छन् । अध्यक्ष शेष घलेदेखि संस्थापक अध्यक्ष उपेन्द्र महतोसम्मका सहभागीहरूले नेपालको आर्थिक विकासको मेरुदण्ड रहेको पर्यटनलाई कसरी प्रबर्द्धन गर्न सकिन्छ भन्नेमा गम्भीर चिन्तन गरिरहेका छन् ।

परोपकारसम्बन्धी तेस्रो कार्यशालाको अध्यक्षता संस्थाका उपाध्यक्ष कुमार पन्तले गरिरहेका छन् । एनआरएनएमार्फत हुँदै आएका परोपकार कार्यहरू र भविष्यमा गर्न सकिने अन्य कार्यहरूबारे सहभागी सबैले आआफ्नो अनुभव र सुझाव टिपाई रहेका छन् ।

एनआरएनका वरिष्ठ अभियन्ता राम थापाको नेतृत्वमा नागरिकताको निरन्तरतासम्बन्धी चौथो कार्यशाला पनि चलिरहेको छ । एकपटकको नेपाली सधैको नेपाली भन्ने नारा, हालको संविधानले संबोधन गरेका र गर्न बाँकी विषयबारे व्यापक छलफल भइरहेको छ ।

संस्थाका महासचिब बद्री केसीले नेतृत्व गरेको पाँचौ कार्यशालाले एनआरएनएका विधान र नीतिनियमबारे सघन छलफल गरिरहेको छ ।

समग्र कार्यशालाको सहजीकरण डा हेमराज शर्माले गरिरहेका छन् भने अध्यक्षता शेष घलेले गरेका छन् ।

कार्यशालापछि एनआरएन सातौं युरोपीय महिला सम्मेलन सुरु हुँदै छ ।